ह्यारिसबर्गमा उद्घोषण र नेतृत्व कार्यशाला: युवालाई निमन्त्रणा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / युवाहरूमा सार्वजनिक प्रस्तुति कला, कार्यक्रम सञ्चालन क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित युथ फर कल्चर, चेन्ज, एन्ड कम्युनिटी (वाइफोरसी) ले “द आर्ट अफ होस्टिङ ” अतिथि सत्कारको कला शीर्षकमा एक दिने निःशुल्क अन्तरक्रियात्मक कार्यशाला आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी जुन १४, २०२६, आइतबार बिहान ११ बजे, ह्यारिसबर्गस्थित (6700 Derry St, Harrisburg, PA 17111) मा सञ्चालन हुनेछ।
कार्यशालाले विशेषगरी नेपाली–भूटानी समुदायका युवाहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन (होस्टिङ), सार्वजनिक वक्तृत्व कला, स्टेज आत्मविश्वास, दर्शकसँग प्रभावकारी संवाद, स्टेज शिष्टाचार तथा सामुदायिक नेतृत्वका आधारभूत पक्षहरूबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नेछ।
आयोजकका अनुसार सहभागीहरूले केवल बोल्ने सीप मात्र नभई आत्मविश्वास, नेतृत्व क्षमता तथा सार्वजनिक उपस्थितिको कला पनि सिक्ने अवसर प्राप्त गर्नेछन्।
यस कार्यक्रमका प्रमुख प्रशिक्षक प्रजीत राना हुन्, जो नेपाली–भूटानी डायस्पोराभित्र एक अनुभवी होस्ट, सञ्चारकर्मी तथा सांस्कृतिक अभियन्ताका रूपमा परिचित छन्।
उनी पूर्व भुटानीज कम्युनिटी अफ ग्रेटर रोचेस्टरका प्रमुख कार्यकारी निर्देशक समेत रहिसकेका छन्। रानाले अमेरिकाभर चर्चित सांस्कृतिक कार्यक्रमहरू “मेरो डान्स कप युएसए” “मेरो भ्वाइस कप यूएसए” तथा “हिमालयन फेस्टिभल यूएसए” जस्ता कार्यक्रमहरूको सफल सञ्चालन गरिसकेका छन्।
त्यसै गरी, उनले विभिन्न संगीत भिडियोहरूको निर्देशन गर्दै सिर्जनात्मक क्षेत्रमा पनि योगदान पुर्याएका छन्।
आयोजक संस्थाका अनुसार रानाको अनुभव र नेतृत्वले युवाहरूलाई व्यावसायिक होस्टिङ, स्टेज प्रस्तुति तथा प्रभावकारी सञ्चारकलाबारे प्रत्यक्ष सिकाइ प्रदान गर्ने विश्वास लिइएको छ।
वाइफोरसी क्रियमाण फाउन्डेसनअन्तर्गत सञ्चालन भइरहेको युवा–केन्द्रित पहल हो। यस संस्थाले युवाहरूलाई नेतृत्व, सामुदायिक सहभागिता, सांस्कृतिक पहिचान, स्वयंसेवा तथा व्यक्तिगत विकासका अवसरहरू प्रदान गर्दै आएको छ।
वाइफोरसीको उद्देश्य युवाहरूलाई सकारात्मक सामाजिक परिवर्तनका लागि प्रेरित गर्दै उनीहरूको क्षमता विकास गर्नु हो।
कार्यक्रममा सहभागी युवाहरूले:
• कार्यक्रम सञ्चालन तथा एंकरिङका आधारभूत सीप,
• सार्वजनिक बोल्ने कला,
• दर्शकसँग प्रभावकारी संवाद गर्ने तरिका,
• स्टेज आत्मविश्वास र प्रस्तुति शैली,
• तथा सामुदायिक नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन्।
कार्यक्रममा सहभागिता पूर्ण रूपमा निःशुल्क रहनेछ। सीमित सिट उपलब्ध भएकाले इच्छुक युवाहरूलाई समयमै दर्ता गर्न आयोजकले अनुरोध गरेको छ। साथै, समुदायका अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई यस्ता नेतृत्वमूलक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रममा सहभागी गराउन प्रोत्साहन गरिएको छ।

















