अमेरिकामा ‘क्लिक इट अर टिकट’ अभियान : के हो यो र किन सुरु गरियो?
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / मे आठ तारिख बिहान पेन्सिल्भेनिया राज्यको डाउफीन काउन्टी अन्तर्गत स्वातारा टाउनसिप पुलिस डिपार्टमेन्टले एउटा सूचना जारी गर्यो ।
जुन सूचनामा भनिएको छ, ‘क्लिक इट अर टिकट’ जसको अर्थ सिट बेल्ट लगाउन नत्र टिकट पाउँछौ ।
यो सूचना स्वातारा टाउनसिप पुलिस डिपार्टमेन्टबाट मात्र होइन अमेरिका भर जारी भएका छन्।
‘क्लिक इट अर टिकट’ चेकिङ अभियान हो र यो मे ११ देखि सुरु भएको छ । यो अभियान जुन २९ तारिख सम्म जारी रहने छ ।
यस अभियानको अवधिमा प्रहरीले विशेष गरी सिट बेल्ट नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई लक्षित गरी जाँच गर्नेछन्।
‘एक चालकको रूपमा, तपाईंको गाडी भित्र बस्ने सबै यात्रुहरूको सुरक्षाको जिम्मेवारी तपाईंको आफ्नै हो भन्ने कुरा सधैं स्मरण राख्नुहोला।’ प्रहरीको सूचनामा भनिएको छ ।
गाडीमा सवार यात्रुले सिटीबेल्ट नलगाए पनि त्यसको कारवाही चालकले बेहोर्नु पर्ने नियम प्राय राज्यहरुमा छ ।
‘तथ्याङ्कहरूले वर्षौंदेखि यो प्रमाणित गर्दै आएका छन् कि सिट बेल्टले वास्तवमै मानिसको अमूल्य ज्यान जोगाउँछ! त्यसैले प्रत्येक पटक गाडी भित्र बस्दा आफूले पनि अनिवार्य रूपमा सिट बेल्ट बाँध्न र आफ्ना सम्पूर्ण यात्रुहरूले पनि सिट बेल्ट बाँधेको सुनिश्चित गर्न नभुल्नुहोला।’ सूचनामा भनिएको छ ।
‘सधैं सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगौं।’ सूचनाको मुख्य सन्देश रहेको छ ।
स्वातारा टाउनसिपकी आयुक्त विनिता पुरी राईले पनि ‘क्लिक इट अर टिकट’ अभियानलाई सहयोग गर्न आग्रह गरेकी छिन्।
उनले गाडीमा यात्रा गर्दा सिटबेल लगाउन र सुरक्षाकर्मीले चेकजाच गरेमा पूर्णरुपमा सहयोग गर्न भनेकी छिन् ।
हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को आयोजनामा पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित श्रीलक्ष्मीनारायण हरिहर धाममा शुरु भएको श्री भविष्य पुराण महोत्सवको पहिलो दिन आज कलश यात्रा पछिको सम्बोधनमा उनले यस्तो आग्रह गरेकी हुन् ।
के हो ‘क्लिक इट अर टिकट’ अभियान?
‘क्लिक इट अर टिकट’ अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन द्वारा सञ्चालित एक अत्यन्तै सफल र ठूलो राष्ट्रव्यापी सडक सुरक्षा अभियान हो।
यसको सरल अर्थ हुन्छ— गाडीमा बस्ने बित्तिकै सिट बेल्टको लक ‘क्लिक’ (बन्द) गर्नुहोस्, अन्यथा ‘टिकट’ (सवारी नियम उल्लंघनको जरिवाना) खान तयार हुनुहोस्।
यो अभियान विशेष गरी अमेरिकामा गर्मी महिनाको बिदा सुरु हुने र सडकमा गाडीहरूको चाप अत्यधिक बढ्ने ‘मेमोरियल डे’ को आसपासमा हरेक वर्ष चलाइने गरिन्छ।
यो अभियान किन र कहिले सुरु भयो?
यो अभियानको सुरुवात सन् १९९३ मा अमेरिकाको नर्थ क्यारोलिना राज्यबाट भएको थियो। पछि सन् २००३ बाट यसलाई अमेरिकी सरकारले देशव्यापी अभियानको रूपमा लागू गर्यो।
यसको सुरुवात हुनुका मुख्य कारण दुर्घटनामा हुने मृत्युदर कम गर्नु हो । सन् १९८० र ९० को दशकमा अमेरिकामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या अत्यधिक थियो। अनुसन्धानले देखाए अनुसार दुर्घटनामा मर्नेहरूमध्ये आधाभन्दा बढीले सिट बेल्ट लगाएका हुँदैनथे।
धेरैजसो मानिसहरू “मलाई केही हुन्न” वा “छोटो दुरीमा त हो नि” भन्दै सिट बेल्ट बाँध्न अल्छी गर्थे। मानिसहरूको यही बानीलाई बदल्न र कानुनी डर देखाएर भए पनि बेल्ट बाँध्न बाध्य पार्न यो कडा अभियान सुरु गरिएको हो।
तथ्याङ्क अनुसार १८ देखि ३४ वर्षका युवाहरू र रातीको समयमा यात्रा गर्ने यात्रुहरूले सिट बेल्ट सबैभन्दा कम लगाउने गरेको पाइयो। उनीहरूलाई नै लक्षित गरी यो अभियान सुरु गरियो।
अभियानको प्रभावकारिता
यो अभियान सुरु भएपछि अमेरिकामा सिट बेल्ट लगाउनेहरूको संख्यामा ऐतिहासिक वृद्धि भएको छ। सन् १९९३ मा अमेरिकामा सिट बेल्ट लगाउने दर करिब ५८ प्रतिशत मात्रै रहेकोमा, यो अभियानको निरन्तरताका कारण हाल यो दर ९१ प्रतिशतभन्दा माथि पुगिसकेको छ। प्रसासनको आँकडा अनुसार सिट बेल्टकै कारण अमेरिकामा हरेक वर्ष १५ हजार भन्दा बढी मानिसको ज्यान जोगिने गरेको छ।
पेन्सिलभेनियामा सिट बेल्टको नियम:
यस राष्ट्रव्यापी अभियान अन्तर्गत पेन्सिलभेनिया राज्यमा गुड्ने सवारी साधनका लागि कडा नियमहरू तोकिएका छन्:
अगाडि बस्नेका लागि: गाडीका चालक र अगाडिको सिटमा बस्ने यात्रुले अनिवार्य रूपमा सिट बेल्ट लगाउनुपर्छ।
बालबालिकाका लागि १८ वर्ष मुनिका सबैका लागि सिट बेल्ट अनिवार्य छ। २ वर्ष मुनिका बच्चालाई पछाडि फर्किएको विशेष सिट, ४ वर्ष मुनिकालाई नियमित कार सिट र ४ देखि ८ वर्षसम्मका बालबालिकालाई अनिवार्य रूपमा (बुस्टर सिट) मा राख्नुपर्ने कानुनी व्यवस्था छ।
चालकको जिम्मेवारी: गाडी भित्र रहेका १८ वर्ष मुनिका कसैले बेल्ट नलगाएमा त्यसको जरिवाना सिधै गाडी चालकले तिर्नुपर्छ।
इतिहासमा फर्कदा : सिटबेल्ट अनिवार्य र नागरिकको विरोध
अमेरिकामा सिटबेल्ट अनिवार्य गर्ने नियम सुरु हुँदा जनताले यसको ठूलो विरोध गरेका थिए र यसलाई सरकारले “नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप” गरेको र “आफ्नो शासन लाद्न खोजेको” रूपमा लिएका थिए।
विरोध पछि सरकारको नया विधि
सन् १९६८ मा अमेरिकामा सबै नयाँ गाडीहरूमा सिटबेल्ट राख्न अनिवार्य गरियो। तर, मानिसहरूले यसलाई बाँध्न अस्वीकार गरे।
सन् १९८० को दशकसम्म जम्मा १४% अमेरिकीले मात्र सिटबेल्ट लगाउँथे । जब सरकारले यसलाई कानुन बनाएर जरिवाना तिराउन खोज्यो, तब मानिसहरूले “मेरो गाडीमा म जे पनि गर्छु, सरकारले मलाई नियन्त्रण गर्न पाउँदैन” भन्दै आन्दोलन गरे।
त्यतिबेला मानिसहरूमा यदि गाडी दुर्घटना भएर पानीमा वा आगोमा पर्यो भने सिटबेल्टले गर्दा झन् अड्किइन्छ र मरिन्छ भन्ने भ्रम थियो।
उनीहरू गाडीबाट बाहिर गरिँदा सुरक्षित भइन्छ भन्ने सोच्थे। कतिपयले त आक्रोशमा आएर आफ्नो गाडीको सिटबेल्ट नै काटेर फालिदिएका थिए।
सन् १९७३-१९७४ सिटबेल्ट नलगाई गाडी स्टार्ट नहुने प्रविधि: अमेरिकी सरकारको दबाबमा गाडी निर्माताहरूले “इन्टरलक मेकानिजम” नामको नयाँ प्रविधि ल्याए। यसमा चालकले सिटबेल्ट नलगाएसम्म गाडी स्टार्ट नै हुँदैनथ्यो।
यो विधिको झन् ठूलो विरोध भयो। मानिसहरूले यसलाई सरकारको तानाशाही प्रवृत्ति ठाने र सिटबेल्टको बकमा सिटबेल्ट नलगाईकन क्लिप मात्र घुसारेर वा सिटको पछाडिबाट बेल्ट घुमाएर गाडी छक्याउन थाले।
जनताको तीव्र विरोध र आक्रोशका कारण अमेरिकी संसदले यो प्रविधिलाई गाडीबाट हटाउन बाध्य भयो।
पछि सरकारले जनतालाई जबरजस्ती कानुन थोपर्नु भन्दा उनीहरूको सोच बदल्ने रणनीति लियो ।
सन् १९८० को दशकमा अमेरिकी सरकारले मानिसहरूलाई डर देखाएर होइन, बरु मनोरञ्जन र चेतनाको माध्यमबाट सिटबेल्ट लगाउन राजी गराउने निर्णय गर्यो। यसका लागि उनीहरूले टिभीमा एउटा विज्ञापन शृङ्खला सुरु गरे:
‘क्र्यास टेस्ट डमी’ विज्ञापनहरू: सरकारले टिभीमा “भिन्स एण्ड ल्यारी” नामका दुईवटा ‘क्र्यास टेस्ट डमी’ (दुर्घटना परीक्षण गर्ने पुतली) पात्रहरू बनाएर चर्चित विज्ञापनहरू प्रसारण गर्यो।
यी विज्ञापनहरू निकै रमाइला तर चेतनामूलक थिए, जसले सिटबेल्ट नलगाउँदा कसरी शरीर टुक्रा-टुक्रा हुन्छ र लगाउँदा कसरी ज्यान बच्छ भनेर देखाउँथे।
विज्ञान र डाक्टरहरूले लगातार “सिटबेल्टले मानिसको ज्यान बचाउँछ” भन्ने प्रमाणहरू देखाउन थाले।
यो विज्ञापन यति चर्चित भयो कि बालबालिकाहरूले आफ्ना अभिभावकलाई गाडी चलाउँदा सिटबेल्ट लगाउन दबाब दिन थाले। यसले अमेरिकी समाजको सोचाइमा ठूलो परिवर्तन ल्यायो।
मानिसहरूले आफ्ना बालकालिकालाई सुरक्षित राख्न पहिले सिटबेल्ट बाँध्न थाले र बिस्तारै उनीहरू आफैं पनि बाँध्न बानी परे।
सन् १९८४ मा न्युयोर्क पहिलो यस्तो राज्य बन्यो जसले चालक र अगाडि बस्ने यात्रुलाई सिटबेल्ट अनिवार्य गर्यो र नलगाए जरिवाना तोक्यो। बिस्तारै अन्य राज्यहरूले पनि यो नियम लागु गरे।
जब चेतना फैलियो, तब सरकारले सन् १९९३ देखि एउटा नयाँ र कडा अभियान सुरु गर्यो, जसको नारा थियो—”क्लिक इट अर टिकट” । त्यही अभियान फेरि शुरु गरिएको हो।
अहिले अमेरिकाका ५० राज्यहरू मध्ये न्यु ह्याम्पशायर बाहेक बाँकी ४९ वटै राज्यमा वयस्कहरूका लागि सिटबेल्ट लगाउनु कानुनी रूपमा अनिवार्य छ। कतिपय राज्यमा १८ वर्ष भन्दा माथिकाले पनि पछाडी सिटमा बस्दा पनि सिटबेल्ट लगाउनु पर्ने नियम छ ।
न्यु ह्याम्पशायर यस्तो राज्य हो, जहाँ १८ वर्षभन्दा माथिका वयस्कहरूलाई सिटबेल्ट लगाउनु अनिवार्य छैन। यस राज्यको आधिकारिक नारा नै स्वतन्त्र भएर बाँच वा मर भन्ने छ। त्यहाँका नागरिकहरू आज पनि “हाम्रो सुरक्षा हाम्रो जिम्मेवारी हो, सरकारले बाध्य पार्न पाउँदैन” भन्ने मान्यता राख्छन्। यद्यपि, त्यहाँ पनि १८ वर्ष मुनिका बालबालिकाका लागि भने सिटबेल्ट वा चाइल्ड सिट अनिवार्य छ।
अमेरिकाका विभिन्न राज्यहरूमा यसको जरिवाना फरक-फरक छ। केही राज्यमा सिटबेल्ट नलगाउँदा ड्राइभिङ लाइसेन्सको प्वाइन्ट समेत काटिन्छ, जसले गर्दा पछि गाडीको बीमा निकै महँगो हुन जान्छ।
हिस्ट्रिडटकमको सहयोगमा

















