ह्यारिसबर्गमा श्री भविष्य पुराण महोत्सव शुरु, पहिलो दिन कलश यात्रा सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा शुक्रबारदेखि श्री भविष्य पुराण महोत्सव शुरु भएको छ ।
हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को आयोजनामा श्रीलक्ष्मीनारायण हरिहर धाम मा शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य आकर्षण अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा रहेकी छन् । शनिवार देखी दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उनले श्री भविष्य पुराण कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवको पहिलो दिन शुक्रबार भव्य कलश यात्रा सम्पन्न गरिएको थियो ।
कलश यात्रामा देवी प्रतिभासहित श्रीलक्ष्मीनारायण हरिहर धामका मठाधीश, गुरुहरू, ओएचआरसीका पदाधिकारी तथा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो ।
धार्मिक भजन, कीर्तन र श्रद्धाभक्तिका साथ सम्पन्न कलश यात्राले सम्पूर्ण क्षेत्र भक्तिमय बनेको थियो ।
कलश यात्रापछि आयोजित सभालाई देवी प्रतिभा, श्रीलक्ष्मीनारायण हरिहर धामका मठाधीश अनन्त विभूषित श्री चक्रपाणी स्वामीजी महाराज, स्वातारा टाउनसिपकी आयुक्त विनिता पुरी राई, ओएचआरसीका अध्यक्ष प्रेम खनाल, भुटानीज कम्युनिटी अफ ह्यारिसबर्गका पूर्व अध्यक्ष तिलक निरौला तथा ओएचआरसीका कार्यकारी निर्देशक डा. तुलाराम न्यौपाने ले सम्बोधन गरेका थिए ।
वक्ताहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच एकता, सद्भाव र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै महोत्सवलाई ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरेका थिए ।
उनीहरूले शनिवार देखी शुरु हुने कथा वाचन कार्यक्रममा स परिवार सहभागी हुन समुदायलाई आह्वान समेत गरेका थिए ।

















