ह्यारिसबर्गमा नेपाली महावाणिज्यदूतावासको कन्सुलर सेवा:‘स्क्याम्प’को आशंकादेखि सेवाग्राहीको खुसीसम्म
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / नेपालमा काभ्रेका प्रीतम बस्नेत सन् २०१७ देखि अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित फिलाडेल्फियामा बस्छन्। उनको राहदानीको म्याद सकिँदै थियो । नवीकरणका लागि न्यू योर्क वा वासिङ्गटन डिसी जाने सोच बनाउँदै थिए ।
त्यही बेला फिलाडेल्फियाको फुटबल ग्रुपमा एक जनाले राखेको एउटा फोटोमा उनको नजर पर्यो । जहाँ नेपाली महावाणिज्यदूतावास न्यू योर्कको सूचना थियो । मार्च २२ तारिख ह्यारिसबर्गमा कन्सुलर सेवा शिविर हुँदै छ।
बस्नेतलाई विश्वास नै लागेन । यो (ठगी) स्क्याम्प त होइन ?
अमेरिकामा नेपाली दूतावास तथा महावाणिज्यदूतावासका बारेमा प्रायशःको गुनासो हुन्छ, फोन नै उठ्दैन । सेवा लिन साह्रै झन्झटिलो छ। सरकारी कर्मचारीको व्यवहार अलिक रुखो हुन्छ।
नौ वर्ष देखि दूतावासको बारेमा यस्तै यस्तै सुन्दै आएका उनलाई घरै नजिक सुविधा पाइन्छ भन्नेमा विश्वास नलाग्ने पनि स्वाभाविक नै हो।
हुन पनि अमेरिकामा पाइला पाइलामा ठगी हुन्छ । पल पल जोगिनु पर्छ । अझ अहिले सामाजिक सञ्जालमा गतल सूचनाको बाढी नै छ।
बस्नेतले पनि सूचना सत्य हो भन्नेर पुष्टि गर्ने आयोजक मध्येका एक गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान उपाध्यक्ष अभिषेक थापालाई पटक पटक फोन गरे।
‘अब यो फोटो देख्दा खेरि आजकल यति स्क्यामको जमाना छ। त्यस कारण म चाहिँ अलिकति चिन्तित भएको थिए । त्यस कारण सूचनामा फोन नम्बर लेखेथ्यो। नवीन लामा लेखेथ्यो अनि अभिषेक दाजुको नाम लेखेथ्यो। मैले उहाँलाई फोन गरे। उहाँलाई मैले तीन चार चोटि नै कल गरे।’ ह्यारिसबर्गको डेरी स्ट्रिटमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीमा राहदानी नवीकरणको काम सके पछि बस्नेतले समाज टाइम्स सँग भने, ‘ हरेक समय उहाँले फोन उठाउनु भयो अनि मैले सोध्या सोध्या गरे के हो के स्क्याम हो कि हैन भनेर।’
त्यसो त अभिषेक थापाको फोन पछि उनले सरकारी वेब साइडमा पनि त्यो सूचनाको पुष्टि गरेको बताए। ‘नर्थ क्यारोलिनामा पनि यस्तो शिविर भएको रहेछ त्यस पछि ढुक्क भए।’ बस्नेतले भने।
‘सुविधा त एकदम एकदम स्मूथ थियो। जो गेस्ट आउनुभएको थियो विषेशत एक जनाको स्पिच मैले सुनेको थिए। जो उहाँ चाहिँ स्टेट रेप्रेजेन्टेटिभ हुनु रैछ। नेपाली मूलको मान्छे। सो उहाँको स्पिच इन्स्पिरेशनल नै थियो। मान्छेहरूको जम घट प्लस सुविधा इट वाज लाइक भेरी स्पोर्ट्स।’ उनले शिविरको चिरफार पनि गरे।
बस्नेत मात्र होइन शिविरमा सेवा लिन आएका सबैले प्रशंसा नै गरे। हुन पनि बिहान सखारै न्यू योर्कबाट आएका महावाणिज्यदूत दधिराम भण्डारी, महावाणिज्यदूतावासका अन्य तीन कर्मचारी र एनआरएनएका पदाधिकारी साँझ ६ बजे सम्म सेवा दिँदै थिए।
दिन भरमा ७७ जनाले सेवा लिए। धेरैले राहदानी नवीकरण गरे । केहीले भिजिट भिषा पनि लिए। अन्य सरकारी कामकाजका बारेमा सोध बुझ गर्न आउनेहरूको संख्या पनि बाक्लो थियो।
इटहरी घर भई हाल ह्यारिसबर्ग बसोबास गर्दै आएका लोकनाथ गिरीले आफू र उनकी श्रीमती पिंगला गिरीले पासपोर्ट नविकरण सेवा लिएको बताए।
“पहिले यस्तो कामका लागि न्यूयोर्क जानुपर्थ्यो, अहिले यहीँ सेवा पाउँदा धेरै खुसी लागेको छ,” उनले भने।
पिंगला गिरीले पनि सेवा प्रक्रियालाई सराहना गर्दै भनिन्, “हामीलाई निकै सहज भयो।”
मोरङ पथरी घर भई हाल ह्यारिसबर्ग बस्दै आएकी रेश्मा धिमालले पनि यस्ता शिविरलाई अत्यन्त उपयोगी बताइन्। “यदि यो सेवा यहाँ नभएको भए हामीलाई धेरै टाढा जानुपर्ने थियो। यहाँ सुविधा पाउँदा धेरै खुसी लागेको छ,” उनले भनिन्।
त्यस्तै, सेवाग्राहीका रूपमा सहभागी गरुड लालकुमार यादवले आफूले सहज रूपमा सेवा पाएको अनुभव सुनाउँदै भने, “म त कुनै तयारी बिना आएको थिएँ, तर यहाँ आएपछि सबै प्रक्रिया छिटो र सजिलै सम्पन्न भयो। एक–डेढ घण्टामै काम सकियो। यस्तो सेवा निरन्तर हुनुपर्छ।”
सिरहा घर भई चार वर्षदेखि अमेरिकामा बस्दै आएका अनिल कुमार चौहानले पनि पासपोर्ट नविकरणका लागि शिविर उपयोगी बनेको बताए। “डिसी वा न्यूयोर्क जानुपर्ने झन्झट हट्यो। यहाँ सेवा पाउँदा निकै सजिलो भयो,” उनले भने।
शिविरमा सहभागी अधिकांश सेवाग्राहीले एउटा साझा माग राखेका छन्—यस्ता कन्सुलर सेवा शिविरहरू एकपटकको कार्यक्रममा सीमित नभई नियमित रूपमा सञ्चालन गरिनुपर्छ।
कार्यक्रमका आयोजक पक्षले पनि यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। एनआरएनए अमेरिका पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष नविन लामाले समुदायको सक्रियताले यस्तो कार्यक्रम सफल भएको बताए। “समुदायको आवश्यकता र दबाबकै कारण हामीले यस्तो कार्यक्रम गर्न पहल गरेका हौँ। आजको सहभागिताले यसको आवश्यकता कति थियो भन्ने देखाएको छ,” उनले भने।
त्यस्तै, पूर्व उपाध्यक्ष अभिषेश थापाले प्रारम्भिक चरणमा धेरैले शंका व्यक्त गरेको स्वीकारे। “हामीलाई धेरै फोनहरू आए—यो साँच्चै हो कि होइन भनेर। तर हामीले सबैलाई विश्वास दिलायौँ र आजको सहभागिता त्यसैको परिणाम हो,” उनले बताए।
नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीले यस्ता कार्यक्रममार्फत सेवाग्राहीलाई नजिकबाट सेवा दिनु दूतावासको प्राथमिकता भएको स्पष्ट पारे। “हामीले समुदायको आवश्यकता बुझेर सेवा विस्तार गर्ने प्रयास गरिरहेका छौँ। यहाँको सहभागिता र प्रतिक्रिया हेर्दा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने देखिएको छ,” उनले भने।
भण्डारीका अनुसार प्रवासमा रहेका नेपालीलाई सहज रूपमा सेवा उपलब्ध गराउनु मात्र नभई उनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु पनि महत्वपूर्ण पक्ष हो। “यस्ता कार्यक्रमले दूतावास र समुदायबीचको दूरी घटाउँछ,” उनले थपे।
ह्यारिसबर्ग र वरपरको क्षेत्रमा नेपाली भाषी भूटानी समुदायको बाक्लो बसोबास रहेको छ। सोही कारण यस क्षेत्रमा आयोजित कन्सुलर सेवा शिविरले विशेष महत्व राखेको छ। कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि र नेपाली भाषी भूटानी समुदायबीच अन्तरक्रिया पनि भएको थियो, जसमा उनीहरूको अवस्था, आवश्यकता र पहिचानसँग जोडिएका विषयमा छलफल गरिएको थियो।
समुदायका सदस्यहरूले यस्तो प्रत्यक्ष संवादलाई सकारात्मक रूपमा लिएका छन्। “हामीलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने प्लेटफर्म पाउनु नै ठूलो कुरा हो,” एक सहभागीले भने।
कार्यक्रमले केवल प्रशासनिक सेवा मात्रै दिएको छैन, यसले समुदायमा विश्वास, एकता र सम्बन्धको नयाँ आयाम पनि थपेको छ। सुरुमा ‘स्क्याम्प’को आशंका गरिएको कार्यक्रम अन्ततः समुदायको उत्साह, सहभागिता र सन्तुष्टिमा परिणत भएको छ।
र यो पनि …
नेपाली भाषी भूटानीले एनआरएनए कार्ड लिँदा समस्या पर्न सक्छ : नारद अधिकारी















