ह्यारिसबर्गमा नेपाली महावाणिज्यदूतावासको कन्सुलर सेवा शिविर: घरदैलोमै सेवा पाउँदा समुदाय उत्साहित
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपाली महावाणिज्यदूतावास न्यू योर्कद्वारा आयोजित कन्सुलर सेवा शिविर आइतबार उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
महावाणिज्यदूत दधिराम भण्डारीका अनुसार डेरी स्ट्रिटस्थित ग्लोबल तेक्वान्दो एकेडेमीमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको उक्त शिविरमा ७७ जनाले प्रत्यक्ष सेवा लिएका थिए भने सयौँले परामर्श र अन्तरक्रियामा सहभागिता जनाएका थिए।
नेपाल सरकारको “नागरिकसम्म सेवा” पुर्याउने अवधारणाअनुसार सञ्चालन गरिएको यस शिविरले पेन्सिल्भेनिया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली तथा नेपाली भाषी समुदायलाई ठूलो राहत दिएको सहभागिले बताए ।
यसअघि राहदानी नविकरण, भिसा सेवा तथा अन्य कन्सुलर सेवाका लागि न्यूयोर्क वा वासिङ्गटन डीसी पुग्नुपर्ने बाध्यता रहेकोमा अब आफ्नै क्षेत्रमा सेवा पाउँदा सेवाग्राहीहरू निकै उत्साहित देखिएका थिए।
सेवाग्राहीको अनुभव: “घरआँगनमै सेवा, समय र खर्च दुवै बचत”
शिविरमा सहभागी सेवाग्राहीहरूले सेवा छिटो, सहज र प्रभावकारी भएको अनुभव सुनाएका छन्। इटहरी घर भई हाल ह्यारिसबर्ग बसोबास गर्दै आएका लोकनाथ गिरीले आफू र उनकी श्रीमती पिंगला गिरीले पासपोर्ट नविकरण सेवा लिएको बताए।
“पहिले यस्तो कामका लागि न्यूयोर्क जानुपर्थ्यो, अहिले यहीँ सेवा पाउँदा धेरै खुसी लागेको छ,” उनले भने।
पिंगला गिरीले पनि सेवा प्रक्रियालाई सराहना गर्दै भनिन्, “हामीलाई निकै सहज भयो। यहाँ आएर सेवा पाउँदा रमाइलो र सन्तुष्टि दुवै मिल्यो। आयोजकप्रति धन्यवाद छ।”
मोरङ पथरी घर भई हाल ह्यारिसबर्ग बस्दै आएकी रेश्मा धिमालले पनि यस्ता शिविरलाई अत्यन्त उपयोगी बताइन्। “यदि यो सेवा यहाँ नभएको भए हामीलाई धेरै टाढा जानुपर्ने थियो। यहाँ सुविधा पाउँदा धेरै खुसी लागेको छ,” उनले भनिन्।

त्यस्तै, सेवाग्राहीका रूपमा सहभागी गर्भीलाल यादवले आफूले सहज रूपमा सेवा पाएको अनुभव सुनाउँदै भने, “म त कुनै तयारी बिना आएको थिएँ, तर यहाँ आएपछि सबै प्रक्रिया छिटो र सजिलै सम्पन्न भयो। एक–डेढ घण्टामै काम सकियो। यस्तो सेवा निरन्तर हुनुपर्छ।”
सिरहा घर भई चार वर्षदेखि अमेरिकामा बस्दै आएका अनिल कुमार चौहानले पनि पासपोर्ट नविकरणका लागि शिविर उपयोगी बनेको बताए। “डिसी वा न्यूयोर्क जानुपर्ने झन्झट हट्यो। यहाँ सेवा पाउँदा निकै सजिलो भयो,” उनले भने।
फिलाडेल्फियाबाट करिब दुई घण्टा ड्राइभ गरेर आएका प्रीतम बस्नेतले सामाजिक सञ्जालमार्फत शिविरको जानकारी पाएको बताए। “पहिले त स्क्याम हो कि जस्तो लाग्यो, तर आधिकारिक स्रोतबाट पुष्टि भएपछि आएको हुँ। सेवा निकै स्मूथ भयो,” उनले भने। उनले नेपालमा पासपोर्ट लिँदाको अनुभवभन्दा यहाँको सेवा अझ व्यवस्थित लागेको बताए।
निलु पोखरेलले श्रीमानको पासपोर्ट नविकरणका लागि शिविर उपयोगी भएको बताइन्। “हामी पहिले नै डिसी जाने योजना बनाएका थियौँ, तर यहाँ सेवा पाइने थाहा पाएपछि निकै सजिलो भयो,” उनले भनिन्।
“सरकार नागरिकको नजिक पुग्नुपर्छ” : महावाणिज्यदूत

शिविर समापन पछि समाज टाइम्स सँगको कुराकानीमा नेपाली महावाणिज्यदूतावास न्यू योर्कका महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल सरकारको नीति अनुरूप विदेशमा रहेका नागरिकलाई नजिकबाट सेवा दिन यस्ता शिविर सञ्चालन गरिएको बताए।
“सरकार नागरिकसम्म पुग्नुपर्छ भन्ने अवधारणाअनुसार हामी विभिन्न राज्यमा पुगिरहेका छौँ। यसले सेवा प्रवाह मात्र होइन, समुदायसँगको सम्बन्ध पनि बलियो बनाउँछ।” भण्डारीले भने ।
उनले यस शिविरमा राहदानी नविकरण, भिसा सेवा लगायतका विभिन्न सेवामा करिब ७७ जनाले प्रत्यक्ष लाभ लिएको र करिब ३०० भन्दा बढी व्यक्तिसँग अन्तरक्रिया भएको जानकारी दिए।
भण्डारीका अनुसार, यस्ता कार्यक्रमले सेवाग्राहीका समस्या बुझ्न, सुधारका अवसर पहिचान गर्न र नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्नेछ। “समुदायको माग र आवश्यकताअनुसार यस्ता शिविरलाई निरन्तरता दिइनेछ,” उनले स्पष्ट पारे।

आयोजकको प्रतिक्रिया: “समुदायको उत्साहले कार्यक्रम सफल”
कार्यक्रमको समन्वय गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पेन्सिल्भेनिया च्याप्टरले गरेको थियो। पेन्सिल्भेनिया च्याप्टर अध्यक्ष अध्यक्ष नविन लामाले प्रारम्भिक केही प्राविधिक चुनौती भए पनि कार्यक्रम सफल भएको बताए।
“बिहान केही प्राविधिक समस्या आए पनि छिट्टै समाधान गर्यौँ। समुदायको उत्साह र सहभागिताले कार्यक्रम सफल भयो,” उनले भने।
कार्यक्रम सफल बनाउन शुरु देखि नै खटेका एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान उपाध्यक्ष अभिषेक थापाले पनि कार्यक्रमलाई अत्यन्त सफल ठहर गर्दै भने, “पेन्सिल्भेनियाका विभिन्न सहरबाट मानिसहरू आएका थिए। यस्तो सेवा आवश्यक रहेछ भन्ने आज प्रमाणित भयो।”
समुदाय सँग अन्तरक्रिया : एकता, नेतृत्व र अवसरको सन्देश

शिविरसँगै नेपाली तथा नेपाली भाषी भूटानी समुदायका अगुवा बीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली मूलका पहिलो अमेरिकन डेलिगेट डा. ह्यारी भण्डारीले प्रवासी नेपालीहरूलाई एकताबद्ध भई अगाडि बढ्न आग्रह गरे।
उनले भने, “हामी यहाँ संघर्ष गरेर आएका हौँ, तर यो देशले हामीलाई धेरै अवसर दिएको छ। अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने सोच बनाउनुपर्छ।”
मेरिल्याण्ड राज्यसभा सदस्य भण्डारीले नेपाली मूलका युवाहरूलाई गभर्नर, सांसददेखि राजदूतसम्म पुग्ने लक्ष्य राख्न प्रेरित गर्दै शिक्षा, एकता र सकारात्मक सोचको महत्व औंल्याए। साथै उनले समुदायभित्र देखिएको मानसिक स्वास्थ्य समस्या र आत्महत्याको विषयप्रति पनि चिन्ता व्यक्त गर्दै सामूहिक प्रयास आवश्यक रहेको बताए।
भूटानी समुदायको आवाज: “एकता आवश्यक”
भूटानी मूलका समुदायका प्रतिनिधिहरूले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए। उनीहरूले नेपालसँगको सांस्कृतिक सम्बन्ध बलियो रहेको र यस्तो कार्यक्रमले सम्बन्ध अझ प्रगाढ बनाउने बताएका थिए।
उनीहरूले नेपाल सरकारसँग भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रहसमेत गरेका थिए। समुदायका प्रतिनिधिहरूले एकता, पहिचान र नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका थिए।
भूटानी कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनियाकी उपाध्यक्ष निसा गुरुङले सबै नेपाली भाषी समुदाय एक भएर अघि बढ्नुपर्ने बताइन्।
उनले भनिन्, “हामी जहाँबाट आए पनि हाम्रो जड नेपालसँग जोडिएको छ। त्यसैले हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, एकता नै हाम्रो शक्ति हो।”
भूटानी मानवअधिकारवादी नेता तथा व्यवसायी विश्व क्षेत्रीले समुदायको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाबारे चर्चा गर्दै एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले भने, “हामी विभिन्न देशबाट आएका भए पनि हाम्रो पहिचान जोडिएको छ। यो देशमा सफल हुन र आफ्नो अस्तित्व बलियो बनाउन हामी एकजुट हुनुपर्छ।”
त्यस्तै, ग्लोबल भूट्नीज हिन्दु अर्गनाइजेशन (जीबीएचओ ) का बोर्ड चेयर नारद अधिकारीले पनि नेपाली भाषी भूटानी समुदायको आवश्यकतालाई सम्बोधन गर्न यस्तो शिविर अत्यन्त उपयोगी भएको बताए।
उनले भने, “हाम्रो समुदायका हजारौँ मानिस नेपाल जान चाहन्छन्। यस्तो सेवा हाम्रो लागि अत्यन्त आवश्यक छ। यसलाई निरन्तरता दिनुपर्छ।”
उनले नेपाल सरकारसँग भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गर्दै समुदायलाई संगठित भएर अघि बढ्न अपिल पनि गरे।
अधिकारीले नेपाली भाषी भूटानी समुदायको ऐतिहासिक र राजनीतिक अवस्थालाई ध्यानमा राख्दै एनआरएनए सदस्यताको विषयलाई संवेदनशील रूपमा हेरिनुपर्ने बताए ।
उनका अनुसार, विश्वभर छरिएर रहेका नेपाली भाषी भूटानीहरू सांस्कृतिक, भाषिक र ऐतिहासिक रूपमा नेपालसँग जोडिएका भए पनि औपचारिक रूपमा उनीहरूको पहिचान फरक राजनीतिक सन्दर्भसँग जोडिएको छ। यस्तो अवस्थामा एनआरएनए सदस्यता वा कार्ड वितरणले केही जटिलता निम्त्याउन सक्ने उनले संकेत गरे।
“हामी नेपाली भाषी हौँ, हाम्रो जड नेपालसँग जोडिएको छ। तर हामी भूटानबाट आएका शरणार्थी हौँ भन्ने वास्तविकता पनि छ,” उनले भने, “यदि हामीलाई सिधै ‘नन–रेसिडेन्ट नेपाली’ भनेर परिभाषित गरियो भने यसले भूटान सरकार वा अन्तर्राष्ट्रिय सन्दर्भमा फरक अर्थ लिन सक्छ।”
अधिकारीले विशेषगरी भूटानी शरणार्थी समुदाय अझै पूर्ण रूपमा समाधान नपाएको अवस्थामा एनआरएनए सदस्यता लिँदा राजनीतिक र कूटनीतिक असर पर्न सक्ने बताए। “यो केवल एउटा कार्डको कुरा होइन, यसले हाम्रो पहिचान र भविष्यसँग सम्बन्ध राख्छ,” उनले जोड दिए।
उनले नेपाल सरकार र सरोकारवाला निकायलाई यस विषयमा गम्भीरतापूर्वक सोच्न आग्रह गर्दै समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। “यदि भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान हुन्छ भने हामी कसरी संगठित हुने भन्ने बाटो स्वतः खुल्छ,” उनले भने।
साथै, उनले नेपाली भाषी भूटानी समुदायलाई अलग–अलग रूपमा होइन, समग्र नेपाली भाषी समुदायको रूपमा हेर्नुपर्ने धारणा पनि राखे। “हामी नेपाल, भूटान वा अन्य देशबाट आएका भए पनि हाम्रो भाषा, संस्कृति र पहिचान साझा छ। त्यसैले विभाजन होइन, एकताको बाटो रोज्नुपर्छ,” उनले उल्लेख गरे।
उनले एनआरएनएजस्ता संस्थाले पनि यस्ता संवेदनशील विषयमा समावेशी र सन्तुलित नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन्। “समुदायको भावना, इतिहास र वर्तमान अवस्थालाई बुझेर निर्णय लिनुपर्छ,” उनले भने।
समुदाय र दूतावास सहकार्यको आवश्यकता
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले दूतावास र समुदायबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने धारणा राखेका थिए। पेन्सिल्भेनिया नेपाली गुठीका सल्लाहकार विनोद मोक्तानले यस्तो शिविरलाई “प्रशंसनीय सुरुवात” भन्दै निरन्तरता आवश्यक रहेको बताए।
एनआरएनए अमेरिकाका संस्थापक अध्यक्ष सुमन तिम्सिनाले पनि दूतावासको सेवा प्रयासलाई सराहना गर्दै समुदायले सकारात्मक प्रतिक्रिया दिनुपर्ने बताए। “हामीले राम्रो कामको प्रशंसा गर्नुपर्छ, यसले सेवामा अझ सुधार ल्याउँछ,” उनले भने।
एनआरएनए अमेरिका उपाध्यक्ष दिपक साकोटा, पूर्व महासचिव यदु बञ्जराले ह्यारिसबर्गमा सम्पन्न कन्सुलर सेवा शिविरले विदेशमा रहेका नेपाली नागरिकलाई सहज सेवा प्रदान गर्ने नेपाल सरकारको प्रयासलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए।
एनआरएनए अमेरिका पेन्सिल्भेनिया च्याप्टरका पूर्व सचिव रमेश लामिछानेले अन्तर्क्रियामा सहजीकरण गरेका थिए। लामिछानेले सेवाग्राहीको सकारात्मक प्रतिक्रिया, आयोजकको सक्रियता र समुदायको उल्लेखनीय सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिता स्पष्ट पारेको बताए।
‘यसले सेवा प्रवाहलाई सहज बनाएको छ, समुदायबीच एकता, नेतृत्व विकास र नेपालसँगको सम्बन्ध सुदृढ बनाउन पनि महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा यस्ता शिविरहरूको निरन्तरता र विस्तारले प्रवासी नेपाली समुदायलाई अझ सशक्त बनाउने छ।’ लामिछानेले भने।
















