अमेरिकाले नेपालसहित ५० देशका लागि भिसा बन्ड कार्यक्रम विस्तार, बी–१ र बी–२ भिसामा १५,००० धरौटी अनिवार्य
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी विदेश मन्त्रालयले अवैध रूपमा भिसा अवधि नाघेर बस्ने दर ‘ओभरस्टे’ नियन्त्रण गर्न आफ्नो भिसा बन्ड कार्यक्रमलाई विस्तार गरेको जनाएको छ।
यो कार्यक्रम अप्रिल २ देखि लागू हुने गरी ५० देशमा विस्तार गरिएको छ । जस अन्तर्गत ग्रेनाडा पनि समावेश रहेको छ ।
विदेश मन्त्रालयका अनुसार ती देशका नागरिकहरूले अमेरिकाको बी-१’व्यवसाय’ र बी-२ ‘पर्यटन’ भिसा प्राप्त गर्नुअघि १५,००० अमेरिकी डलर बराबरको बन्ड रकम बुझाउनु पर्नेछ।
मन्त्रालयका अनुसार भिसा लिने व्यक्तिले भिसाका सर्त पालना गर्दै समयमै आफ्नो देश फर्किएमा वा यात्रा नगरेमा उक्त बन्ड रकम फिर्ता गरिने जनाएको छ ।
ग्रेनाडासहित नयाँ समावेश गरिएका देशहरूमा कम्बोडिया, इथियोपिया, जर्जिया, लेसोथो, मौरिसस, मंगोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्यु गिनी, सेशेल्स र ट्युनिसिया रहेका छन्।
विदेश मन्त्रालयका अनुसार यी देशहरू यसअघि समावेश गरिएका ३८ देशमा थपिएका हुन्। यसअघि समावेश गरिएका क्यारेबियन देशहरूमा एन्टिगुवा एण्ड बार्बुडा, डोमिनिका र क्युबा रहेका छन्।
त्यस्तै, अन्य देशहरूमा नेपालसहित भुटान, बंगलादेश, अल्जेरिया, अंगोला, बेनिन, बोत्स्वाना, बुरुण्डी, काबो भेर्दे, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कोट दिभ्वार, जिबुटी, फिजी, गाबोन, गाम्बिया, गिनी, गिनी–बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोङ्गा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे रहेका छन्।
विदेश मन्त्रालयले भिसा बन्ड कार्यक्रमले भिसा अवधि नाघेर बस्ने व्यक्तिको सङ्ख्या उल्लेखनीय रूपमा घटाएको दाबी गरेको छ। हालसम्म करिब १,००० विदेशीलाई बन्डमार्फत भिसा दिइएको र तीमध्ये ९७ प्रतिशत व्यक्ति समयमै आफ्नो देश फर्किएको बताइएको छ।
मन्त्रालयका अनुसार विभिन्न आप्रवासन जोखिमका आधारमा आगामी दिनमा थप देशहरूलाई पनि बन्ड कार्यक्रमअन्तर्गत राख्न सकिने बताएको छ ।
यस कार्यक्रममार्फत अमेरिकी करदाताको वर्षेनि सयौँ मिलियन डलर बचत हुने दाबी गरिएको छ। अवैध रूपमा बसेका आप्रवासीलाई हटाउन औसतमा १८,००० अमेरिकी डलर खर्च हुने बताइएको छ।















