अप्रिल भिसा बुलेटिन सार्वजनिक : ग्रीन कार्ड प्रक्रियामा आंशिक सुधार
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी विदेश मन्त्रालयले अप्रिल २०२६ को भिसा बुलेटिन सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको भिसा बुलेटिन अन्तर्गत ग्रीन कार्डको प्रतीक्षामा रहेका हजारौँ आप्रवासीहरूको प्रक्रियामा आंशिक प्रगति देखाएको छ । साथै माग अझै उपलब्ध भिसा सङ्ख्याभन्दा बढी रहेको कारण धेरै आवेदकहरूले प्रतीक्षा जारी राख्नुपर्ने जनाएको छ ।
भिसा बुलेटिनले आप्रवासी भिसाको उपलब्धि निर्धारण गर्दै परिवार प्रायोजित र रोजगारआधारित दुवै वर्गका लागि समयरेखा तय गर्ने बताइएको छ । त्यस्तै, विदेशस्थित अमेरिकी दूतावासमार्फत आवेदन दिने र अमेरिकाभित्रै बसोबास समायोजन गर्ने आवेदकहरूलाई समान रूपमा असर गर्ने जनाएको छ ।
अप्रिल बुलेटिनमा दुई मुख्य मापदण्ड प्रयोग गरिएको जनाएको छ । जसअन्तर्गत ग्रीन कार्ड स्वीकृत हुने समय निर्धारण गर्ते र आवेदन पेश गर्न मिल्ने समय देखाउने रहेको छ । अमेरिकी आप्रवासन सेवाले रोजगार आधारित आवेदकहरूलाई यस महिनामा प्रयोग गर्न अनुमति दिएको छ ।
रोजगार आधारित श्रेणीमा केही सीमित प्रगति देखिएको छ । इबी–१ अन्तर्गत भारत र चीनका लागि मिति एक महिना अगाडि बढेको छ । इबी–२ मा भारतका लागि सानो सुधार भए पनि चीनमा कुनै परिवर्तन भएको छैन । त्यस्तै, इबी–३ मा भारतका लागि अन्तिम स्वीकृति मिति स्थिर रहेपनि आवेदन मिति भने अगाडि बढेको छ । इबी–४ श्रेणीमा भने केही क्षेत्रमा करिब एक वर्षको प्रगति देखिएको छ ।
परिवार–प्रायोजित श्रेणीतर्फ (स्थायी बासिन्दाका पति, पत्नी र सन्तान) विश्वव्यापी रूपमा आवेदनका लागि खुला भएको छ । जसले नयाँ आवेदकहरूलाई आवेदन दिन सहज बनाएको छ । यता अन्य श्रेणीहरूमा भने कुनै परिवर्तन गरिएको छैन ।
विशेषज्ञहरूका अनुसार आगामी महिनाहरूमा प्रगति सुस्त हुन सक्ने सङ्केत देखिएको बताएका छन् । उनीहरूका अनुसार भिसा मागको मूल्याङ्कन गरिरहेको बताएका छन् । यदि माग अझै उच्च रह्यो भने वर्षको अन्त्यतिर मिति पछि सर्ने सम्भावना पनि रहेको जानकारी दिएका छन् ।
त्यस्तै, सामान्य ग्रीन कार्ड १० वर्षका लागि मान्य हुने भए पनि केही अवस्थाहरूमा दिइने सशर्त ग्रीन कार्ड २ वर्षका लागि मात्र मान्य हुने जनाएको छ ।
ग्रीन कार्डको म्याद सकिए पनि स्थायी बासिन्दा हैसियत भने स्वतः समाप्त नहुने तथा वैध कार्ड राख्नु आवश्यक हुने भिसा बुलेटिनमा उल्लेख गरिएको छ ।
अप्रिलको भिसा बुलेटिनले ग्रीन कार्ड प्रक्रियामा रहेका आवेदकहरूलाई आफ्नो अवस्थाबारे स्पष्ट जानकारी दिनुका साथै आगामी कदम चाल्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।















