सोमाली आप्रवासीको ‘टीपीएस’ समाप्त गर्ने निर्णयमा अदालतको रोक
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आगामी साता समाप्त गर्न लागिएको कानुनी सुरक्षा कार्यक्रमलाई अस्थायी रूपमा रोक लगाएका छन्।
यस कार्यक्रमबाट करिब १,१०० सोमाली नागरिकहरूले अमेरिका भित्र बस्न र काम गर्न पाउँदै आएका थिए।
बोस्टनस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश एलिसन बरोउजले शुक्रवार आदेश जारी गर्दै यु.एस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डीएचएस’ ले सोमाली आप्रवासीहरूका लागि लागू गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस ‘टीपीएस’ समाप्त गर्ने निर्णयको मार्च १७ देखि लागू हुने मिति स्थगित गरिदिएकी हुन्।
‘टीपीएस’ मानवीय आधारमा प्रदान गरिने आप्रवासन सुरक्षा कार्यक्रम हो। यसले योग्य आप्रवासीहरूलाई अमेरिकाबाट निष्कासन ‘डिपोर्ट’ हुनबाट जोगाउँछ र उनीहरूलाई कानुनी रूपमा काम गर्ने अनुमति पनि दिन्छ।
ट्रम्प प्रशासनको कार्यकालमा ‘डीएचएस’ ले करिब एक दर्जन देशका नागरिकहरूलाई दिइएको ‘टीपीएस’ कार्यक्रम समाप्त गर्ने प्रयास गरेको छ । जसका कारण विभिन्न अदालतहरूमा धेरै कानुनी चुनौतीहरू दायर भएका छन्।
न्यायाधीश बरोउजले यस्तो निर्णय त्यतिबेला सुनाएकी हुन् जब ट्रम्प प्रशासन अमेरिकी सर्वोच्च अदालतको निर्णयको प्रतीक्षामा छ। सर्वोच्च अदालतले तल्लो अदालतका आदेश हटाउने वा कायम राख्ने विषयमा निर्णय गर्न बाँकी छ।
तल्लो अदालतहरूले यसअघि ३ लाख ५० हजारभन्दा बढी हाइटीका नागरिकहरू र करिब ६ हजार सिरियाली नागरिकहरूका लागि लागू ‘टीपीएस’ समाप्त गर्ने सरकारी निर्णयलाई पनि रोक लगाइसकेका छन्।















