न्यू योर्क सबवेमा दुई जनालाई रेल ट्र्याकमा धकेलेको आरोपमा अवैध आप्रवासी पक्राउ
अमेरिका / यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले न्यू योर्क सिटी सबवेमा दुई जनालाई रेलको ट्र्याकमा धकेलेको आरोपमा एक अवैध आप्रवासी पक्राउ परेको जानकारी दिएको छ।
डिएचएसका अनुसार यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले होन्डुरसका नागरिक बैरोन अलेक्जेंडर पोसाडा-हर्नान्डेजलाई रिहा नगर्न न्युयोर्कका अधिकारीहरूलाई ‘डिटेनर’ जारी गरेको छ। उनी यसअघि चार पटक देश निकाला भइसकेका व्यक्ति भएको र लामो आपराधिक इतिहास रहेको बताइएको छ।
आइतबार, मार्च ८ मा न्यू योर्क सिटीको सबवे स्टेशनमा उनले दुई जनालाई रेलको ट्र्याकतर्फ धकेलेको आरोप लागेको छ। घटनामा ३० वर्षका एक पुरुष घाइते भएका छन् र उनी अहिले स्थिर अवस्थामा रहेको बताइएको छ। अर्को पीडित ८३ वर्षका अमेरिकी एयर फोर्स का पूर्व सैनिक हुन्, जो अहिले गम्भीर अवस्थामा उपचाररत छन्।
आइसका अनुसार पोसादा–हेर्नान्डेजलाई मार्च १०, २०२६ मा अटे्म्प्टेड मर्डर (हत्या प्रयास) को आरोपमा पक्राउ गरिएको हो। सोही दिन आइसले उनीमाथि डिटेनर जारी गरेको थियो।
अधिकारीहरूका अनुसार उनी पहिलो पटक सन् २००८ जनवरी २ मा अमेरिका प्रवेश गरेका थिए। त्यसपछि उनी चार पटकसम्म देश निकाला गरिएका थिए, पछिल्लोपटक सन् २०२० मा। तर त्यसपछि अज्ञात मिति र स्थानबाट उनी पुनः अवैध रूपमा अमेरिका प्रवेश गरेको बताइएको छ।
उनको विरुद्ध यसअघि १५ वटा आपराधिक मुद्दा रहेको डिएचएसले जनाएको छ। तीमध्ये साधारण कुटपिट, घरेलु हिंसा, प्रहरीको काममा अवरोध, हतियार राखेको आरोप, लागूऔषध राखेको आरोप तथा गम्भीर कुटपिट जस्ता आरोपहरू समावेश छन्।
डिएचएसले न्यू योर्क राज्य र स्थानीय अधिकारीहरूलाई आइसद्वारा जारी सबै डिटेनरहरूको सम्मान गर्न आग्रह गर्दै आपराधिक पृष्ठभूमि भएका अवैध आप्रवासीहरूलाई रिहा नगर्न चेतावनी दिएको छ।
यसअघि डीएचएसले न्यू योर्क सहरका मेयर जोहरान ममदानीले न्युयोर्कलाई “स्यान्क्चुअरी सिटी” को रूपमा संरक्षण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको विषयमा आलोचना गरेको थियो। स्यान्क्चुअरी सिटी भन्नाले अवैध आप्रवासी सम्बन्धी मुद्दामा स्थानीय निकायले संघीय आप्रवासन निकायसँग पूर्ण रूपमा सहकार्य नगर्ने नीति बुझिन्छ।
डीएचएसका अनुसार यो निर्णय न्यू योर्क राज्यकी गभर्नर क्याथी होचुलले स्थानीय प्रहरी विभागहरूलाई संघीय आप्रवासन निकाय आइसीई सँग सहकार्य नगर्न प्रस्ताव ल्याएको करिब एक सातापछि आएको थियो।
यस कारण डीएचएसले न्यू योर्कका नीतिहरूले आपराधिक पृष्ठभूमि भएका अवैध आप्रवासीहरूलाई कानुनी कारबाहीबाट बच्ने वातावरण बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको जनाएको छ।
डिएचएसका अनुसार फेब्रुअरी महिनासम्म न्युयोर्क राज्यभर करिब सात हजार एक सय १० जना विदेशी नागरिकहरू हिरासतमा रहेका थिए, जसमा हत्या, कुटपिट, डकैती, लागूऔषध अपराध, हतियार सम्बन्धी अपराध र यौन अपराधजस्ता गम्भीर आरोपहरू रहेका छन्।















