ह्यारिसबर्गमा नेपाली कन्सुलर सेवा शिविर आयोजना हुँदै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले गैर आवासीय नेपाली संघ (एनआरएनए) तथा स्थानीय नेपाली संघसंस्थाहरूसँगको सहकार्यमा पेन्सिल्भेनियाको ह्यारिसबर्गमा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ।
महावाणिज्यदूतावासका अनुसार मार्च २२ तारिख आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ह्यारिसबर्गस्थित ग्लोबल तेक्वान्दो एकेडेमी (6700 Derry Street, Harrisburg, PA 17111) मा शिविर सञ्चालन गरिनेछ।
शिविरमार्फत राहदानी नवीकरण, कागजात प्रमाणीकरण, गैरआवासीय नेपाली परिचयपत्र (एनआरएन कार्ड), अधिकृत वारेशनामा, एकतर्फी यात्रा अनुमति पत्र तथा पर्यटक भिसा सम्बन्धी सेवा उपलब्ध गराइनेछ।
राहदानी नवीकरणका लागि सेवाग्राहीले अनिवार्य रूपमा अनलाइन फारम भरेर मात्र शिविरमा उपस्थित हुनुपर्ने जनाइएको छ। फारम भर्नुअघि प्रयोग गर्ने मोबाइल वा ल्यापटपको टाइम जोन नेपाल (Nepal Local Time) मा परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ।
फारममा फोन नम्बर राख्दा देखिने +९७७ कोडलाई बेवास्ता गरी आफ्नो अमेरिकी मोबाइल नम्बर मात्र राख्न, ‘Issue Place’ मा राहदानी जारी भएको स्थान (सिडिओ, काठमाडौं वा विदेश) छान्न तथा ठेगाना उल्लेख गर्दा पुरानो गाविसको सट्टा नेपालको हालको गाउँपालिका वा नगरपालिका र वार्ड नम्बर प्रयोग गर्नुपर्ने जनाइएको छ।
राहदानी नवीकरणका लागि ५ वर्षे (३४ पेज) को १५० डलर, १० वर्षे (६६ पेज) को २०० डलर तथा १० वर्षभन्दा कम उमेरका नाबालकका लागि ७५ डलर शुल्क तोकिएको छ। हराएको, च्यातिएको वा नासिएको राहदानी नवीकरणका लागि २२५ डलर लाग्नेछ।
यसैगरी एनआरएन कार्डका लागि ४७० डलर, अधिकृत वारेशनामाका लागि ४० डलर तथा पर्यटक भिसाका लागि १५ दिनको ३० डलर, ३० दिनको ५० डलर र ९० दिनको १२५ डलर शुल्क निर्धारण गरिएको छ। सबै शुल्क मनि अडर मार्फत मात्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
राहदानी नवीकरणका लागि मार्च २२ पछि मार्च ३१ भित्रको जुनसुकै मितिमा अपोइन्टमेन्ट लिन सकिने र अपोइन्टमेन्ट स्थानमा ह्यारिसबर्ग नदेखिने भएकाले एनएमपी न्यू योर्क चयन गर्नुपर्ने महावाणिज्यदूतावासले जनाएको छ।















