ह्यारिसबर्गमा एआरयुको भव्य गाला डिनर : नेपाली भाषी समुदायको सशक्तीकरणमा जोड
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गमा एशियन रेफ्युजी युनाइटेड (एआरयू) द्वारा शुक्रवार साँझ आयोजित गाला डिनर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाले आफ्नो दस वर्षे यात्रा र पेन्सिल्भनियामा युथ सेन्टरमा स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा “सेलिब्रेटिङ अ डेकेड अफ हिलिङ, आर्ट एण्ड कम्युनिटी पावर” भन्ने नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, दाताहरू तथा विभिन्न समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य आप्रवासी तथा शरणार्थी समुदायका युवाहरूका लागि सञ्चालन हुँदै आएका कार्यक्रमहरूलाई थप सुदृढ बनाउने तथा संस्थाको आगामी योजनाका लागि सहयोग जुटाउनु रहेको आयोजकले जनाएको छ। विशेष गरी एआरयूले सञ्चालन गर्दै आएको युथ सेन्टर तथा सामुदायिक कार्यक्रमहरूको निरन्तरताका लागि फन्डरेजिङ मुख्य उद्देश्यका रूपमा राखिएको थियो।
दस वर्षे यात्राको उत्सव
कार्यक्रमको उद्घाटन एआरयूका सह–संस्थापक तथा सह–कार्यकारी निर्देशक रविन गुरुङले स्वागत मन्तव्यमार्फत गरेका थिए। उनले संस्थाले पछिल्लो एक दशकदेखि आप्रवासी तथा शरणार्थी समुदायको सशक्तीकरणका लागि निरन्तर काम गर्दै आएको बताए।

उनका अनुसार एआरयूले दस वर्षअघि सामाजिक न्याय, समुदाय निर्माण र आप्रवासी अधिकारका विषयलाई केन्द्रमा राखेर आफ्नो अभियान सुरु गरेको थियो। “आज हामीले संगठनको १० वर्ष र पेन्सिल्भेनियामा समुदाय निर्माणको ५ वर्ष पूरा गरेका छौं,” गुरुङले भने, “यो यात्रा केवल एउटा संस्थाको मात्र होइन, समुदायको सामूहिक प्रयास र संघर्षको परिणाम हो।”

उनले एआरयूले सधैं समुदायलाई उनीहरू जहाँ छन् त्यहीँ पुगेर सहयोग गर्ने सिद्धान्तमा काम गर्दै आएको उल्लेख गरे। विशेष गरी ओक्ल्याण्डबाट पुनःस्थापित भएर आएका भुटानी शरणार्थी समुदाय पेन्सिल्भेनियामा बसोबास गर्न थालेपछि संस्थाले यहाँ युवाहरूका लागि विशेष कार्यक्रमहरू सुरु गरेको उनले बताए।
युथ सेन्टर स्थापना र युवामुखी कार्यक्रम
गुरुङका अनुसार भुटानी तथा अन्य आप्रवासी समुदायका युवाहरूलाई सुरक्षित र सिर्जनात्मक वातावरण प्रदान गर्ने उद्देश्यले एआरयूले ह्यारिसबर्ग क्षेत्रमा युथ सेन्टर स्थापना गरेको थियो। उक्त केन्द्रमार्फत शिक्षा, खेलकुद, कला, नेतृत्व विकास तथा मार्गदर्शनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
“हामी विश्वास गर्छौं कि प्रत्येक व्यक्ति—विशेषगरी सीमान्तकृत समुदायका मानिसहरू—सुरक्षित वातावरण, मार्गदर्शन र अवसरका हकदार हुन्छन्,” गुरुङले भने। “हाम्रो मिशन केवल विगतका पीडाबाट निको पार्ने मात्र होइन, भविष्य निर्माण गर्नु पनि हो—जहाँ आप्रवासी र शरणार्थी समुदायले सम्मानका साथ जीवनयापन गर्न, नेतृत्व गर्न र समृद्ध हुन सकून्।”
आप्रवासी अधिकारका लागि अभियान
कार्यक्रममा बोल्दै गुरुङले वर्तमान राजनीतिक परिस्थितिमा आप्रवासी तथा शरणार्थी समुदायले विभिन्न चुनौतीहरूको सामना गरिरहेको पनि उल्लेख गरे। उनले यस्ता परिस्थितिमा समुदायलाई सशक्त बनाउन एआरयूले देशव्यापी अभियानसँग सहकार्य गर्दै वी बिलङ्ग हियर नामक अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
उनका अनुसार उक्त अभियानको उद्देश्य आप्रवासी अधिकारको संरक्षण गर्नु, समुदायलाई सचेत बनाउनु र सामाजिक न्यायका पक्षमा आवाज उठाउनु हो।
स्थानीय नेतृत्वको समर्थन
कार्यक्रमका प्रमुख वक्ता डाउफिन काउन्टी कमिश्नर जस्टिन डगलसले आप्रवासी तथा शरणार्थी समुदायको योगदानको प्रशंसा गर्दै उनीहरू समाजलाई बलियो बनाउने महत्वपूर्ण शक्ति भएको बताए।
उनले भने, “शरणार्थीहरूले हाम्रो समुदायलाई अझ बलियो बनाउँछन्। म यो कुरा दृढ विश्वासका साथ भन्छु। अहिले हाम्रो देशमा केही मानिसहरू यसबारे शंका गरिरहेका भए पनि म हरेक दिन तपाईंहरूको समुदायमा देखिने दृढता र साहसबाट प्रेरित हुन्छु।”
डगलसले सेन्ट्रल पेन्सिल्भेनियाको सामाजिक तथा सांस्कृतिक विविधतामा आप्रवासी समुदायले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले स्थानीय सरकार र नेतृत्वले यस्तो समुदायसँग ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता पनि औंल्याए।
डिपोर्टेसनका घटनाले दिएको पीडा
आफ्नो मन्तव्यमा डगलसले गत वर्ष केही परिवारहरूले भोग्नुपरेको डिपोर्टेसनको पीडादायी घटनाको अनुभव पनि सुनाए। उनले प्रभावित परिवारहरूसँग भेटघाट गर्दा आफू भावुक बनेको बताए।
“मैले केही परिवारसँग जेलसम्म गएर उनीहरूले आफ्नो प्रियजनलाई अन्तिम पटक भेट्न गएको दृश्य देखेँ,” उनले भने। “त्यो अनुभवले तपाईंलाई भित्रैदेखि परिवर्तन गर्छ। त्यस्तो अवस्थामा रहेका परिवारहरूको पीडा प्रत्यक्ष देख्दा उनीहरूका लागि केही गर्नुपर्ने जिम्मेवारी झन् बढेर आउँछ।”
उनले यस्तो परिस्थितिमा समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाहरूबीच सहकार्य अत्यन्त आवश्यक रहेको बताए।
र्यापिड रेस्पोन्स टिमको आवश्यकता
डगलसले आप्रवासी परिवारहरू समस्यामा पर्दा तत्काल सहयोग उपलब्ध गराउन र्यापिड रेस्पोन्स टिम जस्ता पहलहरू महत्वपूर्ण हुने बताए। उनले एआरयू र अन्य संस्थासँग सहकार्य गर्दै प्रभावित परिवारहरूलाई सहयोग गर्ने प्रयास भइरहेको जानकारी दिए।
“समुदायमा यस्तो प्रणाली हुनु अत्यन्त आवश्यक छ, जसले संकटको समयमा परिवारहरूलाई तुरुन्त सहयोग पुर्याउन सक्छ,” उनले भने।
युवा केन्द्रित योजना
गाला डिनर कार्यक्रममा एआरयूका कार्यक्रम व्यवस्थापक प्रतीक क्षेत्री सहितका सदस्यहरूले संस्थाका विभिन्न कार्यक्रम र आफ्नो जिम्मेवारीबारे जानकारी गराएका थिए।
कामना धिमाल, प्रितम गुरुङ, दिब्या घिमिरे, सविन सुब्वा, भागवत दुलाल, चन्द्र मगर र स्वापनिल पौडेलले लगायतले विशेष गरी युवाहरूका लागि सञ्चालन भइरहेका कार्यक्रममा आ आफ्नो भूमिका, सामुदायिक सहकार्य तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
सांस्कृतिक प्रस्तुती र सांगीतिक कार्यक्रम

कार्यक्रममा विभिन्न कलाकारहरूद्वारा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो। बरिष्ठ संगितकर्मी तथा प्रशिक्षक मुस्कान बलामपाकी, बेबाक राय, दक्षिना सुनुवार, शबिन सुब्बा र सुभाष गुरुङ लगायतका कलाकारहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुती दिएका थिए।

त्यसैगरी कार्यक्रममा विभिन्न कलाकारहरूको नृत्य प्रस्तुती पनि गरिएको थियो। दिव्या घिमिरे, आयुषा चापागाईं, आयुष गुरुङ, प्रज्ञा क्षेत्री, मोनिशा गुरुङ, बिनिता गुरुङ लगायतका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।



सहयोगी र दाताहरूलाई सम्मान
कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न दाताहरू र समर्थकहरूलाई पनि विशेष धन्यवाद दिइएको थियो। रोबिन गुरुङले दाताहरूको सहयोगले संस्थाका कार्यक्रमहरूलाई निरन्तरता दिन ठूलो भूमिका खेलेको बताए।
उनका अनुसार करिब एक महिनाअघि सुरु गरिएको फन्डरेजिङ अभियानमार्फत कार्यक्रम सम्पन्न हुँदासम्म १२ हजार डलरभन्दा बढी रकम संकलन भएको छ। गुरुङका अनुसार एआरयुलले यस वर्ष युवा परियोजनाका लागि ७५ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ।
आगामी कार्यक्रम र योजनाहरू
कार्यक्रममा एआरयूले आगामी योजनाहरूको जानकारी पनि गराएको थियो। गुरुङका अनुसार “सकर फर सक्सेस” नामक कार्यक्रमको दर्ता खुल्ला भएको बताए। गुरुङका अनुसार सकर फर सक्सेस बालबालिकाहरुलाई फुटबल सिकाउदै आइएको परियोजना हो। उनका अनुसार अबको सिजन अप्रिल महिनादेखि डाउपिन हाइ स्कूलमा शुरु हुने छ।
गुरुङले समुदायका सदस्यहरूलाई स्वयंसेवकका रूपमा संस्थासँग जोडिन पनि आग्रह गरे।















