शरणार्थी समुदायले समाजलाई बलियो बनाउँछ : आयुक्त जस्टिन डगलस
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया राज्यको डाउपिन काउन्टिका आयुक्त जस्टिन डगलसले शरणार्थी समुदायले स्थानीय समाजलाई अझ बलियो बनाइरहेको बताएका छन्।
एशियन रेफ्युजी युनाइटेड (एआरयू) द्वारा शुक्रवार साँझ आयोजित गाला डिनरमा बोल्दै उनले शरणार्थी समुदायको दृढता र योगदानको प्रशंसा गरेका हुन्।
आयुक्त डगलसले हाल केही व्यक्तिहरूले शरणार्थी समुदायप्रति शंका व्यक्त गरिरहेको उल्लेख गर्दै उनीहरूले समुदायमा सकारात्मक योगदान पुर्याइरहेको बताए। उनले सेन्ट्रल पेन्सिल्भेनियाका विभिन्न समुदायहरूमा देखिएको सहनशीलता र एकताले आफू र आफ्नो कार्यालयलाई प्रेरणा दिएको बताए।
उनले शिक्षा र युवामुखी कार्यक्रमहरूको महत्व उल्लेख गर्दै एआरयूले बालबालिका र युवाका लागि सञ्चालन गरिरहेका शैक्षिक, खेलकुद तथा अन्य गतिविधिहरूको प्रशंसा गरे। यस्ता कार्यक्रमहरूले विभिन्न पृष्ठभूमिका बालबालिकालाई अवसर प्रदान गर्ने उनले बताए।
डगलसले गत वर्ष केही शरणार्थी परिवारहरूले डिपोर्टेसनको पीडा भोग्नुपरेको घटनाको स्मरण गर्दै त्यसले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताए। प्रभावित परिवारहरूसँग भेटघाट गर्दा उनीहरूको पीडा प्रत्यक्ष रूपमा महसुस गरेको उल्लेख गर्दै उनले यस्ता समुदायसँग सरकार र नेतृत्व तहले ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले शरणार्थी परिवारहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन “र्यापिड रेस्पोन्स टिम” जस्ता पहलहरू महत्वपूर्ण हुने उल्लेख गर्दै समुदायका संस्थाहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। साथै, उनले आफू काउन्टी कमिश्नरका रूपमा समुदायसँग निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे।
‘काउन्टी कमिश्नरको रूपमा उनीहरू साँच्चै अद्भुत स्रोत बन्नुभएको छ र अत्यन्तै महत्वपूर्ण काम गरिरहनुभएको छ। हेर्नुहोस्, शरणार्थीहरूले हाम्रो समुदायलाई अझ बलियो बनाउँछन्। म यस कुरामा पूर्ण विश्वास गर्छु। तर दुर्भाग्यवश अहिले हाम्रो देशमा केही मानिसहरू यस कुरामा शंका गरिरहेका छन्।’ उनले भने।















