पेन्सिल्भेनिया ल्यान्कास्टरमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार
ल्यान्कास्टर, पेन्सिल्भेनिया / तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ (घोडा वर्ष) अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित ल्यान्कास्टरमा आइतबार भव्य रूपमा मनाएको छ।
तामाङ कम्युनीटी अफ ल्यानक्यास्टरको आयोजनामा लिटिज रक्सको हलमा सामूहिक रुपमा सोनाम ल्होछार मनाइएको हो।
घोडा वर्षको आगमनसँगै सुख, शान्ति र समृद्धिको कामना गर्दै आयोजित सांस्कृतिक कार्यक्रममा यस क्षेत्रमा रहेका नेपाली भाषीलाई एकै थलोमा जोडेको थियो।
कम्युनीटका सचिव पासाङ योञ्जन र मेलिना मोक्तानले उद्घोषण गरिएको कार्यक्रममा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो।

संस्थाका अध्यक्ष मोन तामाङले आगन्तुक सबैलाई स्वागत गरेका थिए। दिउसो एक बजे देखि साँझ आठ बजे सम्म भएको कार्यक्रममा सांस्कृतिक र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
नेपाली सङ्गीतमा विषेश पहिचान बोकेको तामाङ सेला पनि प्रस्तुत गरिएको थियो। यस्तै डम्फु सेलो, सामूहिक तथा एकल नृत्य, कविता वाचन र आमन्त्रित कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।
जेष्ठ नागरिक सम्मानसँगै वरिष्ठ ताम्बा (संस्कृतिक पहिचानबारे ज्ञान भएका व्यक्तिहरु ) मनवीर योञ्जन, भीम योञ्जन र पञ्चमान मोक्तानको डम्फु सेलो प्रस्तुति मौलिक रहेको थियो।
कार्यक्रमलाई प्रमुख अतिथि भुट्नीज डेभलभमेन्ट कम्युनीटी अफ ल्यानक्यास्टर बीसीडीका अध्यक्ष खेम सुवेदी, विशेष अतिथिका रूपमा ग्रेटर वासिङ्टनस्थित तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टनकी महासचिव रोजी घिसिङले संवोधन गरेका थिए।

यसैगरी, न्यू योर्कबाट आमन्त्रित वरिष्ठ सेलो गायक सञ्जोक योञ्जन, सेलो गायीका शशिकला मोक्तान र नेपालबाट आएकी चर्चित गायिका निर्मला घिसिङले साङ्गीतिक प्रस्तुति दिएका थिए । साथै कलाकार भरत तामाङले पनि प्रस्तुति दिएका थिए।

कार्यक्रममा नयाँ पुस्ताको उल्लेख्य सहभागिता थियो । ल्यान्कास्टर, ह्यारिसबर्ग तथा आसपासका सहरहरूबाट बालबालिका, युवा युवतीहरू तामाङ समुदायको मौलिक पहिचान झल्काउने पोशाकमा कार्यक्रम स्थलमा उपस्थित भएका थिए।

कार्यक्रममा सोनिया तामाङलाई ‘ग्र्याजुएसन एसवाई २४–२५ अवार्ड’ प्रदान गरिएको थियो ।
साहित्यिक प्रस्तुति अन्तर्गत कविता वाचन, तामाङ कविता ‘ज्याबा सेमरी खेन्नो’ लगायतका कार्यक्रमले सांस्कृतिक विविधतालाई झल्काएको थियो।
कार्यक्रमको अन्त्यमा लटरी ड्र गरिएको थियो । पहिलो हुनेलाई आई फोन १६ दोस्रोलाई ७० इन्चको टिभी र तेस्रोलाई एमके ब्याग प्रदान गरिएको थियो । आइ फोन कृष्ण चुहान, टिभी रायन घिसिङ तामाङ र एनके ब्याग मर्सी तामाङले जितेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मोन तामाङले विदेशमा तामाङ समुदायका लागि सोनाम ल्होछार केवल पर्व मात्र नभई पहिचान, भाषा, भेषभूषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अवसर भएको बताए।

उनले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिएका थिए।
‘यस कार्यक्रममार्फत नयाँ पुस्तामा आफ्नो मौलिक संस्कार हस्तान्तरण गर्ने र समुदायबिच एकता तथा सहकार्य सुदृढ बनाएको छ।’ तामाङले भने,’हामी आगामी वर्षहरूमा पनि यसै गरि कार्यक्रम गर्ने छौ।’















