मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वका क्रममा नेपाली नागरिकको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै आवश्यक सबै कदम तत्काल थाल्न सरकारसँग माग गरेका छन् ।
‘त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,’ उनले भने ।
महामन्त्री पौडेलले नेपालीहरूलाई समेत आफ्नो सुरक्षाका लागि सजग रहन अपिल गरेका छन् । ‘त्यस क्षेत्रमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म आफ्नो सुरक्षाका लागि सजग रहन र अत्यावश्यक नपरी बाहिर ननिस्कन हार्दिक अपिल गर्दछु,’ उनले भने ।











