इरानी मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु, कम्तीमा १२१ जना घाइते
कार्लाल, पेन्सिलभेनिया / इरानले शनिवार इजरायलका विभिन्न स्थानमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै कम्तीमा १ सय २१ जना घाइते भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएको छ । इजरायलको राष्ट्रिय आपतकालीन सेवा मगेन डेभिड अडोम (एमडीए) ले आइतवार बिहान स्थानीय समयअनुसार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो ।
‘एमडीए’का अनुसार आपतकालीन स्वास्थ्यकर्मी र प्यारामेडिक टोलीले देशभरका अस्पतालहरूमा १ सय २१ जना घाइतेलाई उपचारका लागि पठाएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ ।
मृतक ५० वर्षकी एक महिला हुन् । साथै, दुई जनाको अवस्था मध्यम रहेको छ भने १ सय १९ जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।
तेल अवीवमा इरानी मिसाइल आक्रमणका कारण उक्त महिलाको मृत्यु भएको हो । सोही आक्रमणमा कुल घाइतेमध्ये करिब एक चौथाइ घाइते भएका छन्, जसमा केही बालबालिकासमेत रहेका छन् ।
घटनास्थलबाट प्राप्त भिडियो र तस्बिरहरूमा एक भवनमा प्रत्यक्ष प्रहार हुँदा भवनको पर्खाल भत्किएको र कङ्क्रिट तथा फलामे संरचना बाहिर निस्किएको देखिएको छ । दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका थिए ।















