अमेरिकाको अर्कान्ससमा प्रेमीकालाई कुटपिट गरेको आरोपमा नेपाली युवा पक्राउ
जोन्सबोरो, अर्कान्सस / अमेरिकाको अर्कान्सस राज्यको जोन्सबोरोस्थित नर्थ क्यारावे रोडको एक अपार्टमेन्टमा भएको घरेलु विवादपछि प्रहरीले एक नेपाली युवकलाई पक्राउ गरेको छ।
नेपालमा काठमाडौका श्रेष्ठ अर्कान्सस स्टेट युनिर्निभर्सिटीका विद्यार्थी भएको जनाइएको छ । प्रहरीले प्रेमिकालाई कुटपिट तथा घाँटी थिचेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय अनलाइन पत्रिकाका अनुसार जोन्सबोरो प्रहरी विभाग द्वारा दर्ता गरिएको ‘प्रोबेबल कज’ एफिडेभिट अनुसार, फेब्रुअरी ११, २०२६ मा घरेलु झगडा भइरहेको सूचनापछि प्रहरी उक्त अपार्टमेन्टमा पुगेका थिए।
घटनास्थलमा पुगेपछि प्रहरीले पीडित महिलासँग कुराकानी गरेको थियो। ती महिलाले आफ्ना प्रेमी २२ वर्षीय बिबेक श्रेष्ठले आफूमाथि कुटपिट र घाँटी थिचेको आरोप लगाएकी छन्।
एफिडेभिटअनुसार, विवादका क्रममा श्रेष्ठले उनलाई अनुहारमा लात प्रहार गरेका थिए, जसका कारण गाला र नाकमा रातोपन तथा सुन्निएको अवस्था देखिएको थियो। त्यसपछि उनी अर्को कोठातर्फ भागेकी थिइन् तर श्रेष्ठले पछ्याएर पुनः अनुहारमा मुक्का प्रहार गरेको आरोप छ।
पीडितले प्रहरीसमक्ष दिएको बयानमा श्रेष्ठले आफ्नो घाँटी थिच्दा आफूले सास फेर्न नसकेको र आवाजसमेत निकाल्न नसकेको उल्लेख छ।
प्रहरीले पीडितको अनुहारमा रातोपन, निलडाम, फुटेको ओठ, सुन्निएको भाग तथा घाँटीमा कोट्याइएको जस्ता चिन्ह देखिएको जनाएको छ, जुन पीडितको बयानसँग मेल खाने उल्लेख गरिएको छ।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर क्रेगहेड काउन्टी डिटेन्सन सेन्टरमा राखेको छ।
श्रेष्ठविरुद्ध परिवार वा घरायसी सदस्यविरुद्ध गम्भीर हमला र तथा कुटपिट सम्बन्धी अभियोग लगाइएको छ। अदालतले उनको जमानत रकम ३५ हजार अमेरिकी डलर तोकेको छ भने पीडितसँग कुनै सम्पर्क नगर्ने आदेश पनि जारी गरिएको छ।
उनको अर्को अदालत पेशी मार्च २० मा तोकिएको छ।

















