पेन्सिल्भेनियाको ह्यारिसबर्गमा महाशिवरात्रि विशेष पूजा सम्पन्न, ओएचआरसीद्वारा भव्य कार्यक्रम आयोजना
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आइतबार महाशिवरात्रिको अवसरमा विशेष पूजा–आजा, चण्डी पाठ, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान सम्पन्न भएको छ।
हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) को आयोजनामा श्रील्मक्षीनारायण हरिहरधाममा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विषेश पूजा गरिएको थियो।
बिहान नित्यकर्मसँगै ब्राह्मणद्वारा चण्डी पाठ पारायण गरियो भने भगवान शिवको महिमा गाइँदै भजन–कीर्तन प्रस्तुत गरिएको थियो। सहभागी भक्तजनहरूले शिवलिङगमा गाईको दूध तथा जल चढाएर पूजा गरेका थिए।
ओएचआरसीका सञ्चार संयोजक सिएम निरौलाका अनुसार कार्यक्रमको सुरुवात मन्दिर परिसरमा स्थापना गरिएको शिवालयबाट गरिएको थियो।
‘११ ब्राह्मणहरुद्वारा चण्डी पाठ पारण अनि शिवको महिमा गाइयो भजन कीर्तन हरू भयो ।’ निरौलाले समाज टाइम्स सँग भने ।

बाहिर रहेको शिवलिङ्गमा श्रद्धालुहरूले जल अर्पण गरेका थिए। विशेषगरी महाशिवरात्रिको दिन शिवलिङ्गमा जल, दूध, बेलपत्र र धतुरो चढाउने परम्परा अनुसार भक्तजनहरूले विधिपूर्वक पूजा गरेका थिए। त्यसपछि मन्दिरभित्र रहेको सर्वमन्दिरमा विशेष पूजा आयोजना गरिएको थियो।
निरौलाका अनुसार जाडो मौसमका कारण यस वर्षको मुख्य विशेष पूजा भित्रतर्फ केन्द्रित गरिएको थियो। मन्दिर परिसरमा दुई स्थानमा शिवजीको स्थापना रहेको र दुवै स्थानमा विशेष आराधना गरिएको जानकारी दिँदै उनले पेन्सिल्भेनियामा शिवलिङ्ग स्थापना भएका मन्दिरमध्ये यो मन्दिर विशेष महत्वको रहेको बताए।
भजन–कीर्तनसँगै शिव महिमाको वाचन, स्तोत्र पाठ तथा आरती गरिएको थियो। सहभागीहरूले ‘ॐ नमः शिवाय’को जपसँगै भगवान शिवको आराधना गरेका थिए। कार्यक्रममा बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।

महाशिवरात्रिको धार्मिक महत्त्व
महाशिवरात्रि हिन्दू धर्ममा भगवान शिवप्रति समर्पित एक प्रमुख पर्व हो। यस दिन भगवान शिव र माता पार्वतीको विवाह भएको मानिन्छ। साथै, शिवले यसै रात विषपान गरी संसारलाई विनाशबाट जोगाएको पौराणिक विश्वास पनि छ। त्यसैले यो पर्वलाई आत्म शुद्धि, संयम, तपस्या र श्रद्धाको प्रतीकका रूपमा लिइन्छ।
नेपालमा पशुपतिनाथमा प्रत्येक वर्ष लाखौँ भक्तजन उपस्थित हुने गर्छन्। ह्यारिसबर्गस्थित मन्दिरमा आयोजना गरिएको कार्यक्रमले पनि पशुपतिनाथको झल्को दिने वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ थियो।
महाशिवरात्रिको दिन उपवास बस्ने, रात्रि जागरण गर्ने, शिवलिङ्गमा जल चढाउने तथा भजन–कीर्तन गर्ने परम्परा रहिआएको छ। अमेरिकामा रहेका नेपाली तथा अन्य हिन्दू समुदायले पनि आफ्नो संस्कृति र परम्परा जगेर्ना गर्दै उत्साहका साथ पर्व मनाउने गरेका छन्।

















