रास्वपाको करार पत्र : वंशजको नागरिकता निरन्तरता, विदेशमा बस्ने नेपाली अनलाइन मतदान
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वंशजको नागरिकताको निरन्तरता र विदेशमा बस्ने नेपालीलाई अनलाइन मतदानको व्यवस्था गर्ने जनाएको छ।
आइतबार पार्टीको ‘नागरिक पत्र’ सार्वजनिक गर्दै रास्वापाले विदेशमा बस्ने नेपालीका अधिकार, सुरक्षा र सहभागितालाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
करार पत्रमा विदेशमा रहेका नेपालीलाई नेपालको विकास यात्रासँग प्रत्यक्ष जोड्ने स्पष्ट प्रतिबद्धता गरिएको छ।
विशेषगरी गैर–आवासीय नेपाली (एनआरएन) को नागरिकता सम्बन्धी समस्या समाधान, दोहोरो नागरिकताको विषयमा स्पष्ट नीतिगत व्यवस्था र विदेशबाट मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने लक्ष्य उल्लेख गरिएको छ।
करार पत्रमा विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देश फिर्ताको वातावरण, मर्यादित वैदेशिक रोजगारी लक्ष्य राखिएको छ।
















