एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा, महेश समूहमा चरम असन्तुष्टि
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदको निर्वाचनका लागि जापान निवासी रोविन शेरचन र बेलायत निवासी डा. हेमराज शर्मा आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन् ।
डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३ बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औँ महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।
सोही क्रममा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमा भन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौँ भन्दै आसन्न १२औँ महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैर आवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।
साथै, रोविन शेरचनले विगत ३८ वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय र समाजसेवामा विशिष्ट पहिचान बनाएका छन् । पृष्ठभूमि व्यापारिक भए पनि बुवा स्वर्गीय राजेन्द्र शेरचनको भैरहवा र काठमाडौँमा होटल तथा कपडा व्यवसाय थियो तर उनले पैतृक सम्पत्तिमा रम्नुभन्दा आफ्नै बलबुतामा केही गर्ने अठोट लिएर हिँडेका थिए ।
उनले पनि विगतका ज्ञान तथा विज्ञ सम्मेलनले केही सकारात्मक छाप छाड्न सफल भएको र यसलाई थप परिष्कृत र नयाँ सोचका साथ भौतिक रुपमा नै निरन्तरता दिइने बताए ।
प्रवासमा हासिल गरेका ज्ञान, सीप र अनुभवका आधारमा नेपालको विविध क्षेत्रमा नीतिगत सुझाव सरोकारवाला निकायलाई उपलब्ध गराइने, विधानले व्यवस्था गरेको एनआरएनए पेसागत तथा प्राज्ञिक एकाइलाई कार्यान्वयनमा ल्याइने पनि उनको प्रतिबद्धता छ ।
यसै बीच मार्चमा तोकिएको महाधिवेशनका लागि महेश श्रेष्ठ समूहमा भने चरम असन्तुष्टि रहेको जनाइएको छ।
मुख्य रुपमा निर्वाचनको प्रक्रियालाई लिएर महेश श्रेष्ठका अधिकांश पदाधिकारीले आपत्ति प्रकट गरेका छन्। महेश समूहका सह कोषाध्यक्ष कृष्ण पोखरेलका अनुसार हाइब्रिड चुनावका लागि उनीहरूको असहमति रहेको हो।
‘एनआरएनएमा विवाद शुरु भएकै डेलिकेट र निर्वाचन प्रक्रियाका कारण हो त्यसलाई सम्बोधन नगरी एकता हुँदैन भनेर हामीले बैठकमै भनेका छौ, हाम्रा अध्यक्ष महेशजीले त्यसबारेमा स्पष्ट कुरा राख्नु भएन भने हामी विकल्प खोज्छौ।’ समाज टाइम्स सँगको कुराकानीमा पोखरेलले भने। उनले यही अवस्थामा आफूहरू चुनावमा नजाने बताए।
‘हामी एकता हुनु पर्छ भन्ने पक्षकै हो तर विवाद जे कारणले भयो त्यसलाई सम्बोधन गरौँ भन्ने हो।’ पोखरेलले भने,’सर्वोच्च अदालतको परमादेश अनुसार सम्पन्न भएको एकता महाधिवेशनबाट निर्वाचित समितिले आफ्नो काम जारी राख्ने भन्ने भएको छ।।’

















