ट्याक्स फाइल २०२६ : ट्याक्स सिजनसँगै पेन्सिलभेनियामा नेपाली तथा नेपालीभाषी भुटानी समुदायमा चहलपहल
नयाँ कर नियमले कसरी बदलिँदै छ ट्याक्स रिफन्ड फाइलिङ प्रणाली ?
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / यो वर्षको ट्याक्स रिफन्ड सिजन सुरु भइसकेसँगै संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपाली तथा नेपालीभाषी भुटानी समुदायका व्यक्तिहरू ट्याक्स फाइल गर्न व्यस्त देखिएका छन् ।
विशेष गरी पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग, ल्यान्कास्टर, क्याम्प हिल, मेकानिक्सबर्ग, कार्लाल लगायतका क्षेत्रमा रहेका ट्याक्स सेवा केन्द्र, सामुदायिक कार्यालय तथा व्यक्तिगत ट्याक्स परामर्शदाताहरूको कार्यालयमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । हरेक दिन कामकाजी समयपछि तथा सप्ताहन्तमा समेत ट्याक्स फाइल गर्न आउनेहरूको भीड बढ्दो छ ।
यस वर्ष नयाँ कर नियम, अनलाइन फाइलिङ प्रणालीमा भएका परिवर्तन र सम्भावित कर फिर्ता रकम प्रतिको चासोका कारण धेरैले समयमै ट्याक्स फाइल गर्न प्राथमिकता दिएका छन् ।
केहीले आफै अनलाइन माध्यममार्फत ट्याक्स फाइल गरिरहेका छन् । धेरैले भाषिक सहजता र सही मार्गदर्शनका लागि नेपाली वा नेपालीभाषी भुटानी ट्याक्स परामर्शदाताको सहयोग लिइरहेका छन् ।
विशेष गरी नयाँ आप्रवासी, पहिलो पटक ट्याक्स फाइल गर्नेहरू, परिवारसहित काम गर्नेहरू तथा साइड इनकम भएका व्यक्तिहरूका लागि ट्याक्स प्रक्रिया जटिल हुने भएकाले परामर्श सेवाको माग उल्लेखनीय रूपमा बढेको छ ।
ट्याक्स फाइल गर्दा तलबसम्बन्धी कागजात, बैङ्क ब्याज, स्वास्थ्य बीमा, बाल कर क्रेडिट, शिक्षा खर्च, घरभाडा तथा अन्य कटौतीयोग्य विवरणहरू सङ्कलन गर्नुपर्ने भएकाले समुदायका सदस्यहरू पहिलेभन्दा बढी सचेत र व्यवस्थित देखिन्छन् ।
यसका साथै कतिपय नेपाली तथा भुटानी सामुदायिक संस्थाहरूले कम आय भएका परिवार, वृद्ध वृद्धा तथा विद्यार्थीहरूलाई लक्षित गरी न्यून शुल्कमा ट्याक्स फाइल गरिरहेका छन् ।
समग्रमा, ट्याक्स फाइल सिजन नेपाली तथा नेपालीभाषी भुटानी समुदायका लागि केवल कानुनी दायित्व पूरा गर्ने समय मात्र नभई आर्थिक अनुशासन, वित्तीय योजना र भविष्यप्रतिको तयारी गर्ने अवसरको रूपमा देखिन थालेको छ ।
करदाताहरूको सबैभन्दा ठुलो ट्याक्स रिफन्ड पाउने अपेक्षा
धेरै अमेरिकी करदाताहरूले अहिलेसम्मकै सबैभन्दा ठुलो ट्याक्स रिफन्ड पाउने अपेक्षा गरिरहेका छन् ।
आन्तरिक राजस्व सेवा (आइआरएस)ले गत वर्ष पारित भएको ट्रम्प प्रशासनको नयाँ कर कटौतीसम्बन्धी कानुन (वान बिग ब्युटिफुल बिल एक्ट) लाई २०२६ को ट्याक्स फाइल अघि कार्यान्वयन गर्न काम गरिरहेको छ ।
गत वर्ष एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डज)मार्फत सङ्घीय निकायहरूमा गरिएको कटौतीका कारण (आइआरएस)को कर्मचारी संख्या २७ प्रतिशत ले घटाइएको थियो । यसले कर सिजनमा असर पर्न सक्छ कि भन्ने चिन्ता बढाएको छ ।
(आइआरएस)ले अप्रिल १५ को समयसीमा अघि कर वर्ष सन् २०२५ का लागि करिब १ सय ६४ मिलियन व्यक्तिगत कर विवरण प्राप्त हुने अपेक्षा गरेको छ ।
जटिल कर कानुन र घटेको कर्मचारी सङ्ख्याका कारण धेरै सङ्घीय निगरानी निकाय र अमेरिकी सांसदहरूले यो कर सिजन (आइआरएस)का लागि ठुलो परीक्षा हुने चेतावनी दिएका छन् । ट्रम्प प्रशासनको नयाँ कर नीतिका कारण लाखौँ करदाताले करिब ४ हजार डलर बराबरको कर फिर्ता पाउने अपेक्षा गरिरहेका छन् ।
“यदि तपाईले २०२५ को कर विवरण पहिल्यै दर्ता गरिसक्नुभएको छ । कर फिर्ताको प्रतीक्षा गरिरहनु भएको छ । तपाईको डाइरेक्ट डिपोजिट जानकारी हराइरहेको वा अमान्य भएमा हप्तौँ लाग्न सक्छ ।”, (आइआरएस)का करदाता अधिवक्ताले भने ।
ट्याक्स फाइल रिफन्ड आउन कति समय लाग्छ?
(आइआरएस)ले कर विवरण इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्यक्ष निक्षेपमार्फत कर फिर्ता लिन करदातालाई प्रोत्साहित गर्दै आएको छ । यसले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गरिरहेको छ ।
मार्च महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले “मोडर्नाजिङ पेमेन्ट टु एण्ड युएस बैङ्क एकाउन्ट” नामक कार्यकारी आदेश जारी गरेका थिए । जसको उद्देश्य सङ्घीय भुक्तानीलाई अझ प्रभावकारी, कम खर्चिलो र सुरक्षित बनाउनु हो । यसअन्तर्गत (आइआरएस) पूर्ण रूपमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीतर्फ सर्दैछ ।
(आइआरएस)का अनुसार इलेक्ट्रोनिक रूपमा दर्ता गरिएका कर विवरणमध्ये १० मध्ये ९ वटा कर फिर्ता २१ दिनभित्र प्राप्त हुन्छन् ।
(आइआरएस)का करदाता अधिवक्ताले गत हप्ता सूचना जारी गर्दै भने, “प्रत्यक्ष निक्षेप जानकारी नदिई दर्ता गरिएका कर विवरणहरू पनि प्रक्रिया गरिने छ । तर, त्यस्तो अवस्थामा कर फिर्ता अस्थायी रूपमा रोक्का गरिने छ । जबसम्म करदाताले प्रत्यक्ष निक्षेप जानकारी उपलब्ध गराउँदैनन् वा कागजी चेकको अनुरोध गर्दैनन् ।”
(आइआरएस)ले ट्याक्स फाइल रिफन्ड रोक्का ग¥यो भने के हुन्छ?
ट्याक्स फाइल रिफन्ड प्रत्यक्ष निक्षेप जानकारी नभएको वा गलत भएको कारण रोक्का भयो भने, (आइआरएस)ले (सिपी ५३ इ) सूचना पठाउने छ ।
यस सूचनामा (आइआरएस)को अनलाइन एकाउन्टमा लगइन गरेर प्रत्यक्ष निक्षेप जानकारी थप्न वा अद्यावधिक गर्न निर्देशन दिइने छ ।
(आइआरएस)ले जानकारी सच्याउन ३० दिनको समय दिइन्छ । यदि कुनै कदम नचालेमा (आइआरएस)ले ६ हप्तापछि कागजी चेक जारी गर्नेछ । यो सूचना एकपटक मात्र पठाइने जनाइएको छ । यदि दोस्रो पटक पनि प्रत्यक्ष निक्षेप असफल भयो भने फेरि बैङ्क जानकारी सच्याउने अवसर दिइने छैन।
धेरै करदाताका लागि ट्याक्स रिफन्ड भनेको वर्षको अन्त्यमा सानो आर्थिक जित जस्तो महसुस हुन्छ । सिपीएहरूका अनुसार, ट्याक्स रिफन्ड वर्षभर गरिएका साना निर्णयहरूको परिणाम भएको हो । उनीहरूले करदातालाई ५ सामान्य ट्याक्स रिफन्ड आश्चर्य र तिनबाट बच्ने उपायहरू अपनाउन सुझाव दिएका छन् ।
“अघिल्लो वर्षकै आधारमा कर फिर्ताको अपेक्षा गर्नु, नयाँ जागिरले कर कटौती बदलिदियो, आम्दानी बढ्यो तर ट्याक्स रिफन्ड घट्यो, विवाहले कर बदलिदियो, ठुलो ट्याक्स रिफन्ड नै फाइदा हो भन्ने सोच राख्नु रहेको छ । ”, सिपीएहरूले भनेका छन् ।
तस्वीर सौजन्य : ह्यारिसवर्ग सिटी

















