टी–२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हरायो
मुम्बई / आइसीसी टी २० विश्वकप २०२६ मा भारतले अमेरिकालाई २९ रनले हराएको छ।
वानखेड़े स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । जवाफी ब्याटिङमा अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा सीमित रह्यो।
टसपछि पहिले ब्याटिङ गरेको भारतको सुरुवात सहज रहेन। शीर्षक्रमका ब्याट्सम्यानहरू छिट्टै आउट हुँदा भारत दबाबमा परेको थियो। तर कप्तान सूर्यकुमार यादवले पारी सम्हाल्दै जिम्मेवार र आक्रामक दुवै शैलीको ब्याटिङ प्रदर्शन गरे।
उनले ४९ बलमा अविजित ८४ रन बनाउँदै इनिङ्सलाई दिशा दिए। लगातार विकेट खसिरहँदा पनि सूर्यकुमारले रन गति कायम राख्दै भारतलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
एक सय ६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि आत्मविश्वासका साथ इनिङ्स सुरु गरे पनि सुरुवाती ओभरमै विकेट गुमाउँदा दबाबमा पर्यो।
विकेटकिपर एन्ड्रिज गाउस ६ रनमै आउट भए भने सैतेजा मुक्कामल्ला र कप्तान मोनांक पटेल क्रमशः २ र ० रनमा पभेलियन फर्किए।
त्यसपछि मिलिन्द कुमारले ३४ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरे भने सञ्जय कृष्णमूर्ति र शुभम रञ्जानेले आक्रामक ब्याटिङ गर्दै खेललाई केही समयसम्म प्रतिस्पर्धात्मक बनाए। शुभम रञ्जानेले २२ बलमा ३७ रन प्रहार गर्दा सञ्जय कृष्णमूर्तिले ३१ बलमा ३७ रन जोडे।
तर भारतीय बलरहरूको अनुशासित प्रदर्शनले अमेरिकाको आशा क्रमशः समाप्त हुँदै गयो।
मोहम्मद सिराजले महत्वपूर्ण तीन विकेट लिँदै अमेरिकी मध्यक्रम तोडे भने अर्शदीप सिंहले दुई विकेट लिएर रन प्रवाह नियन्त्रणमा राखे।
अक्षर पटेल र वरुण चक्रवर्तीले पनि बीचका ओभरमा किफायती बलिङ गर्दै दबाब कायम राखे। अन्ततः अमेरिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमै सीमित रह्यो।
सूर्यकुमार यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

















