हृदयाघात : लक्षण र रोकथामको उपाय
काठमाडौं । पछिल्लो समय नेपालमा हृदयाघातका घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयाघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ ।
चिकित्सकहरूका अनुसार हृदयाघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन् ।
विशेषज्ञका अनुसार हृदयाघात तब हुन्छ, जब मुटुलाई रगत पुर्याउने कोरोनरी धमनी अचानक बन्द हुन्छ । धमनीभित्र लामो समयदेखि जमेको बोसो (कोलेस्ट्रोल) फुट्दा रगत जमेर थक्का बन्ने र मुटुको मांसपेशीले अक्सिजन नपाउँदा हृदयाघात हुने गर्छ ।
चिकित्सकहरू भन्छन्, उच्च रक्तचाप, मधुमेह, धूम्रपान, अत्यधिक मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक निष्क्रियता हृदयाघातका प्रमुख कारण हुन् । पछिल्लो समय मानसिक तनाव, अनियमित जीवनशैली र निद्राको कमीले पनि जोखिम बढाएको उनीहरूको भनाइ छ ।
विशेषगरी शहर केन्द्रित जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग र लामो समयसम्म शारीरिक गतिविधि नगर्ने बानीले युवामा समेत मुटु रोगको जोखिम बढाएको चिकित्सकहरू बताउँछन् । परिवारमा मुटु रोगको इतिहास भएका व्यक्तिमा जोखिम अझ बढी हुने बताइन्छ । वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान हृदयाघातका कारण निधन भएपछि हृदयाघातप्रति आम मानिसलाई झस्काएको छ ।
लक्षणहरू
हृदयाघातका बेला छाती दुख्ने वा भारी महसुस हुने, बायाँ हात, घाँटी, ढाड वा जबडातिर दुखाइ फैलिने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छन्।
यस्ता लक्षण देखिए तुरुन्त नजिकको अस्पताल पुर्याए ज्यान जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।
रोकथाम सम्भव छ
स्वास्थ्य विज्ञहरूका अनुसार हृदयाघात पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिम भने धेरै हदसम्म घटाउन सकिन्छ। नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपान नगर्ने, तनाव व्यवस्थापन गर्ने, पर्याप्त निद्रा लिने र समय–समयमा स्वास्थ्य परीक्षण गराउने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम, सन्तुलित आहार, धूम्रपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने हृदयाघातको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।
मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिसहरू अल्पायुमै मर्ने गरेको बताए ।
उनले भने, ‘अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिसहरू त अल्पायुमै मर्छन् । अल्पायु भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । ६५ लाखभन्दा बढी मान्छेहरू ।’
यसैगरी नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा.रेग्मीको भनाई छ ।
‘हाम्रो नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्छन् । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,’ उनी भन्छन्, ‘विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरुरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।’
मुटुरोग विशेषज्ञ डा.रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ ।

















