मुम्बईमा भव्य उद्घाटन समारोहसँगै शनिवार देखि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ सुरु हुदै
मुम्बई/ आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मुम्बईको ऐतिहासिक वानखेड़े स्टेडियममा आयोजना हुने भव्य उद्घाटन समारोहसँगै शनिबार साँझ औपचारिक रूपमा सुरु हुदै छ।
सह–आयोजक भारत र अमेरिका बीचको उद्घाटन खेलअघि हुने यस समारोहले विश्वकपको रोमाञ्चक यात्राको सुरुआत गर्नेछ।
साँझ ६ बजे (भारतीय समय) सुरु हुने उद्घाटन समारोहमा वानखेड़े स्टेडियमलाई एकीकृत, आकर्षक मञ्चका रूपमा रूपान्तरण गरिनेछ। प्रत्यक्ष संगीत, विशाल कोरियोग्राफी र दृश्यात्मक प्रस्तुतिसँगै आईसीसी पुरुष टी–२० विश्वकप ट्रफीको भव्य आगमन हुनेछ।
समारोहको सुरुआत संगीतकार ऋषभ शर्मा र शिवमणिको शक्तिशाली सांगीतिक प्रस्तुतीबाट हुनेछ। त्यसपछि जेटप्याक लगाएका कलाकारमार्फत विश्वकप ट्रफी स्टेडियममा प्रवेश गराइने विशेष दृश्य प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।
विश्वकप ट्रफीलाई आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले स्वागत गर्नेछन्। सन् २०२४ को संस्करणमा भारतलाई उपाधि दिलाएका रोहित शर्मासँगै सहभागी सबै देशको प्रतिनिधित्व गर्ने २० जना बालबालिकाको उपस्थितिमा विश्वकप २०२६ औपचारिक रूपमा उद्घाटन गरिनेछ।
उद्घाटन समारोहमा चर्चित गायक बादशाहले उच्च ऊर्जा भरिएको प्रत्यक्ष प्रस्तुति दिनेछन् भने नोराफतेहीले ठूलो नृत्य समूहसहित आकर्षक नृत्य कार्यक्रम प्रस्तुत गर्नेछिन्। अन्त्यमा दुवै कलाकार संयुक्त रूपमा भव्य समापन प्रस्तुति दिनेछन्।
टी–२० क्रिकेटको तीव्रता र ऊर्जालाई प्रतिबिम्बित गर्ने उद्देश्यले तयार गरिएको यस समारोहमा खेल मैदानलाई दृश्यात्मक क्यानभासका रूपमा प्रयोग गरिनेछ, जहाँ आधिकारिक प्रतियोगिता लोगो मुख्य मञ्चका रूपमा रहनेछ।
समारोहको समापन भव्य आतिशबाजीसँगै हुनेछ, त्यसपछि साँझ ७ बजे भारत र अमेरिका बीचको उद्घाटन खेल सुरु हुनेछ।
उद्घाटन समारोह हेर्न खेलको टिकट लिएका दर्शकहरू मात्र प्रवेश पाउनेछन्। आयोजकले सबै दर्शकलाई समयमै स्टेडियम पुग्न आग्रह गरेका छन्, ताकि समारोहको कुनै पनि हिस्सा छुट्न नजाओस्।

















