सचिव नोएमको सन्देश : मायामी अन्तर्राष्ट्रिय विमानस्थलको विकास सुरक्षा पुवार्धारमा जोड
कार्लाल, पेन्सिलभेनिया / यु-एस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) की सचिव क्रिस्टी नोएमले मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको व्यापक यातायात सुरक्षा प्रशासनको कारबाहीले अमेरिकी यातायात सञ्जाललाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेकी छिन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव नोएमले पछिल्लो एक वर्षमा नार्को–आतंकवादसँग सम्बन्ध भएका १० हजार भन्दा बढी व्यक्तिहरूलाई यात्रा गर्नबाट रोकिएको जानकारी दिइन् ।
साथै, आतंकवादसँग जोडिएका वा अमेरिकी आतंकवादी वाचलिस्टमा रहेका थप ८५ हजार व्यक्तिहरूलाई पनि उडानमा चढ्न नदिइएको उनले बताइन् ।
सचिव नोएमले भनिन्, “पछिल्लो एक वर्षमा यही विमानस्थलबाट नार्को–आतंकवादसँग सम्बन्ध भएका १० हजार भन्दा बढी व्यक्ति र आतंकवादी वा वाचलिस्टमा रहेका ८५ हजार व्यक्तिलाई यात्रा गर्नबाट रोकिएको छ,”
नोएमले मायामी अन्तर्राष्ट्रिय विमानस्थलको मानव बेचबिखन विरोधी इकाइको कामको समेत प्रशंसा गरिन् । सो इकाइले गत वर्ष २२ सय भन्दा बढी निरीक्षण गरेको र ती प्रयासबाट बाल यौन शोषणसम्बन्धी २४ जनाको गिरफ्तारी भएको जानकारी दिइन् ।
विश्वकै व्यस्त विमानस्थलहरूमध्ये एक मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा १७ सय भन्दा बढी टिएसए अधिकारीहरू कार्यरत छन् ।
उनीहरुल् दैनिक औसत ७० हजार यात्रुहरूलाई सेवा प्रदान गर्दै आइरहेका छन् । त्यस्तै जनवरी ४ तारिखमा झन्डै १ लाख यात्रुहरूको स्क्रिनिङ गरी नयाँ रेकर्ड कायम गरिएको थियो ।
सन् २०२५ मा मात्रै २ करोड ५० लाखभन्दा बढी यात्रुहरू यहाँबाट आवत-जावत गरेको सचिव नोएमले बताइन् ।
यात्रु संख्या बढ्दै गएकाले ९ अर्ब डलरको विमानस्थल आधुनिकीकरण परियोजना अत्यन्तै महत्त्वपूर्ण भएको नोएमको भनाइ छ । यसमा टिएसएले १ सय मिलियन डलर योगदान गरिरहेको छ । साथै टिएसएले यसअघि नै देशव्यापी सुरक्षा प्रविधि सुधारका लागि १ अर्ब डलर लगानीको घोषणा गरिसकेको छ ।
योजनाअन्तर्गत कुकुर इकाइ विस्तार, अत्याधुनिक सिटी स्क्यानर र इमेजिङ प्रणाली जडान गरिने छ ।
अमेरिकाले आगामी फिफा विश्वकपजस्ता ठूला अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिरहेका बेला यी लगानीहरू अझै आवश्यक भएको सचिव नोएमले बताइन् ।
“त्यो १ अर्ब डलरले अमेरिका सुरक्षित राख्ने हाम्रो प्रयासलाई निरन्तरता दिन मद्दत गर्नेछ,” उनले भनिन्।
पत्रकार सम्मेलनका क्रममा नोएमलाई मिनेसोटामा भएको आप्रवासन कारबाहीका क्रममा मारिएका ३७ वर्षीय आइसियु नर्स एलेक्स प्रेट्टी सम्बन्धी बडी–क्यामेरा फुटेज सार्वजनिक हुने विषयमा पनि प्रश्न सोधिएको थियो ।
उनले भनिन्, “यो विषयमा एफबीआइले अनुसन्धान गरिरहेको छ, र त्यसको प्रक्रिया अनुसार निर्णय हुनेछ,”
यसैबीच, हाइटीका नागरिकहरूका लागि अस्थायी संरक्षित स्थिति (टिपीएस) को अवधि सकिन लागिरहेको सन्दर्भमा बोल्दै नोएमले टिपीएस कहिल्यै स्थायी कार्यक्रमका लागि नबनाइएका जानकारी दिइन् ।
“टीपीएस सकिन लागेको देशका नागरिकहरूसँग अपिल गर्ने अवसर हुन्छ, वा उनीहरू योग्य हुने अन्य कार्यक्रमहरू हेर्न सकिन्छ । त्यसका लागि उनीहरूसँग केही महिना समय हुन्छ,” नोएमले भनिन् ।
उनले त्यस्ता व्यक्तिहरूलाई स्टेट डिपार्टमेन्ट र डीएचएससँग सम्पर्क गर्न आग्रह गर्दै आवश्यक सहयोग उपलब्ध गराइने बताइन् ।















