फेब्रुअरी १ देखि स्न्यापमा नयाँ नियम लागू हुने, लाखौँ अमेरिकी लाभबाट वञ्चित हुने सम्भावना
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / फेब्रुअरी १ तारिखदेखि पोषण सहायता कार्यक्रम (स्न्याप) मा नयाँ काम सम्बन्धी नियम लागू हुँदैछन् ।
नयाँ नियम लागु भएसँगै लाखौँ अमेरिकीहरूले खाद्य सहायता गुमाउन सक्ने चेतावनी दिइएको छ । यसबाट करिब ४२ मिलियन अमेरिकी नागरिकहरुले खाद्य सहायता गुमाउन सक्ने छन् ।
विशेषगरी न्यून आय भएका परिवार र जोखिममा रहेका समुदायहरू खाद्यान्न तथा घरायसी आवश्यकताका लागि संघीय कार्यक्रम (स्न्याप) मा निर्भर छन् ।
गत जुलाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको “मेगाबिल” कानुन अनुसार तीन वर्षको अवधिमा तीन महिनाभन्दा बढी (स्न्याप) सुविधा लिनका लागि केही समूहका नागरिकले अनिवार्य रूपमा काम गरेको प्रमाण देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
“मेगाबिल” कानुन अनुसार निर्भर व्यक्तिविहीन सक्षम वयस्कहरूको लागि कार्य आवश्यकताको लागि उमेर सीमा पहिलो पटक ५४ देखि ६४ वर्षसम्म बढाइएको छ । साथै, १८ वर्षमुनिका आश्रितको हेरचाह गर्ने अभिभावक वा परिवार सदस्यहरूको लागि छूट नियम समेत परिवर्तन गरिएको छ । त्यस्तै १४ वर्षभन्दा मुनिका बालबालिकाहरूको हेरचाह गर्न मात्र छूट दिइने छ ।
हंगर फ्रि अमेरिकाका सिइओ जोएल बर्गले करोडौँ मानिसहरूलाई अनावश्यक रूपमा लाभ सूचीबाट हटाइने बताएका छन् ।
उनले भने, “अब करोडौँ मानिसहरूलाई अनावश्यक रूपमा लाभ सूचीबाट हटाइने छन्। उनीहरूले आवश्यक खाना गुमाउनेछन्, कहिलेकाहीँ परिवारका सदस्यहरूलाई पनि असर पुग्नेछ । थप अमेरिकीहरू भोक भोकै रहने छन् । सूप किचन, खाद्य प्यान्ट्री र तिनीहरूलाई आपूर्ति गर्ने खाद्य बैङ्कहरूले यो माग पूरा गर्न आवश्यक स्रोत जुटाउन सक्दैनन्।”
अमेरिकी काँग्रेसको बजेट कार्यालयका सन् २०२५, अगस्टको अनुमान अनुसार २०२५ देखि २०३४ बिच करिब ११ लाख मानिसहरूले स्न्याप लाभ गुमाउने छन् । जसमा ६४ वर्षसम्मका ८ लाख सक्षम व्यक्तिहरू आश्रितसँग बस्दैनन् । त्यस्तै ६४ वर्षसम्मका ३ लाख अभिभावक वा हेरचाह गर्ने व्यक्ति जसका बालबालिका १४ वर्ष वा बढी उमेरका छन् ।
स्न्याप लाभ गुमाउन सक्नेहरूमा १८ देखि ५४ वर्षका १० लाख सक्षम‑वयस्कहरू (२०३१ पछि १८ देखि ४९ वर्ष) सम्म आश्रितसँग बस्दैनन् तर कार्य आवश्यकताको छूट पाउने छन् ।
मेगाबिल अन्तर्गत बेघर व्यक्ति, पूर्व सैनिक र १८ वर्ष पुग्दा फोस्टर केयरमा रहेका युवाका लागि छूट हटाइएको छ ।
हंगर फ्रि अमेरिकाका सिइओ बर्गले भने, “यी समूहका लागि मात्र रोजगार पाउनु होइन, सरकारले माग गरेको कागजात पेश गरेर काम आवश्यकताको पालन गरेको प्रमाण दिनु पनि अत्यन्त कठिन हुनेछ ।”
स्न्याप लाभ रोकिएपछि केही खाद्य बैङ्कहरूले मागमा १८ सय प्रतिशतसम्म वृद्धि हुने देखिएको छ ।
सन् २०२३ को अमेरिकन कम्युनिटी सर्वेक्षणका तथ्याङ्क अनुसार स्न्याप प्राप्त गर्ने अधिकांश अमेरिकी परिवारका कम्तीमा एक सदस्यले पछिल्ला १२ महिनामा काम गरेको पाइएको छ ।
तर, काम आवश्यकताले कार्यक्रमको सहभागी सङ्ख्या घटाउन सक्छ ।
नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चको सन् २०२१ को रिपोर्ट अनुसार स्न्यापको लागि काम आवश्यकताका कारण योग्य वयस्कमध्ये १८ महिनाभित्र करिब ५३ प्रतिशतले कार्यक्रम छोड्न सक्ने सम्भावना रहेको छ ।

















