आईसीसी पुरुष टी–२० विश्वकप २०२६: बंगलादेशको स्थानमा स्कटल्याण्ड सहभागी
दुबई / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा बंगलादेशको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरेको छ। प्रकाशित खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी हुन अस्वीकार गरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई प्रतिस्थापन गर्दै स्कटल्याण्डलाई समावेश गरिएको हो।
आईसीसीद्वारा जारी विज्ञप्तिअनुसार भारतमा हुने प्रतियोगिताका आफ्ना खेलहरू श्रीलङ्कामा सार्नुपर्ने माग बीसीबीले राखे पनि, बंगलादेशी टोलीको सुरक्षासम्बन्धी कुनै विश्वसनीय वा पुष्टि गर्न सकिने खतरा नरहेको निष्कर्ष निकाल्दै आईसीसीले उक्त माग अस्वीकार गरेको थियो।
२० टोली सहभागी रहने प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८, २०२६ सम्म आयोजना हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।
आईसीसीले बीसीबीका चिन्तालाई सम्बोधन गर्न तीन साताभन्दा बढी समयसम्म विस्तृत प्रक्रिया अपनाएको जनाएको छ। यस क्रममा भिडियो सम्मेलन र प्रत्यक्ष भेटघाटमार्फत पारदर्शी र रचनात्मक संवाद गरिएको थियो।
आईसीसीले बीसीबीले उठाएका विषयहरू समीक्षा गर्दै आन्तरिक तथा बाह्य स्वतन्त्र सुरक्षा मूल्याङ्कन गराएको, संघीय र राज्यस्तरीय सुरक्षासहित विस्तृत सुरक्षा तथा सञ्चालन योजना साझा गरेको विज्ञप्तिमा उल्लेख छ। यी आश्वासनहरू आईसीसी बिजनेस कर्पोरेसन (आईबीसी) बोर्डसँगको छलफलमा समेत दोहोर्याइएका थिए।
सुरक्षा मूल्याङ्कनपछि आईसीसीले भारतमा बंगलादेशी टोली, अधिकारी वा समर्थकलाई कुनै विश्वसनीय सुरक्षा खतरा नरहेको ठहर गरेको छ। यस आधारमा, प्रतियोगिताको तालिका परिवर्तन गर्नु उपयुक्त नहुने निर्णय गरिएको आईसीसीको भनाइ छ। साथै, प्रतियोगिताको निष्पक्षता, तटस्थता र समग्र संरचना जोगाउन तथा भविष्यमा गलत नजीर नबसाल्न तालिकाको पवित्रता कायम राख्न आवश्यक रहेको उल्लेख गरिएको छ।
बुधबार बसेको आईबीसी बोर्ड बैठकपछि बीसीबीलाई २४ घण्टाभित्र तालिकाअनुसार सहभागिता पुष्टि गर्न आग्रह गरिएको थियो। तोकिएको समयसीमाभित्र कुनै पुष्टि नआएपछि, आईसीसीले आफ्नो नियम तथा छनोट प्रक्रियाअनुसार प्रतिस्थापन टोली चयन गरेको हो।
स्कटल्याण्ड मूलतः प्रतियोगितामा छनोट हुन नपाएको टोलीमध्ये सबैभन्दा उच्च टी–२० अन्तर्राष्ट्रिय वरियतामा रहेको देश हो।
हाल स्कटल्याण्ड १४औँ स्थानमा छ, जुन प्रतियोगितामा पहिल्यै छनोट भएका नामिबिया, संयुक्त अरब इमिरेट्स (यूएई), नेपाल, संयुक्त राज्य अमेरिका (यूएसए), क्यानडा, ओमान र इटाली भन्दा माथि हो।

















