कविता : नागरिकताविहीन जन्म
केशव बैरागी माइलो / पेन्सिल्भेनिया, अमेरिका
म जहाँ जन्मिए
त्यहाँ माटोले मलाई चिनेको थियो
आकाशले नाम सोधेन
हावाले जात मागेन
पानीले धर्म छुट्याएन
तर राज्यले
कागजमा मलाई
कहिल्यै जन्मिन दिएन।
म जन्मिएको केही दिनमा
जन्म प्रमाणपत्र सरकारी मोर लागेर
मिति सहित आयो
तर नागरिकता
सधैँ प्रतीक्षाको फाइल बनिरह्यो
त्यही प्रतीक्षाको छायाँमा
म हुर्किए
अवैध भनिएको मान्छे
वैध पीडासहित
चिसो मुढो जस्तै भएर बाचीरहे ।
एक भाषा, एक भेष
नाराजस्तै सुनियो
तर त्यो
मानव चिन्न नसक्ने
सत्ताको हतियार थियो
सन् १९९० मा दन्किएको आगो
विरोधको ज्वाला बनेर फैलियो
मानव अधिकारका स्वर चर्किए
त्यपछी
राज्यसत्ताले
मान्छे मारेर
आफ्नो सिंहासन बलियो बनाउँदै गयो ।
ढाड भाँचिएका बा
हातखुट्टा गुमाएका दाइभाइ
अनाथ बनेका देवीदेउरालीहरु
रातले लुटेको
आमाको अस्मिता
यी सबै
कथाका पात्र बने
तर पीडाको किताब
हामीले बोक्यौ ।
बरपिपलको छाँया
बटुवा विहीन भयो
घर जले
रगतसँग जमिन साटियो
जेलका खुला ढोका
एकैपटक बन्द भए
लाग्थ्यो कङ्स मामा
कृष्ण थुनिरहेका थिए
आधा रातमा
माटो छोड्ने उर्दि आयो
म आफै
जन्मभूमिको माटो गुमाउँदाको
साक्षी हुँ
त्यस पछि
बाल्यकालमै
शरणार्थीको ट्याग
मेरो निधारमा टाँसियो
धुवाँ, धुलो र अभावसँगै
शिविरमा हुर्किए
जहाँ पाठ्यपुस्तक भन्दा
भोकको व्याकरण गहिरो थियो।
आधा पेटसँगै निदाएका रात
मिठाइँका खोललाई पैसा सम्झिएर
खेलेका खेल
चुडिएको चप्पलको लोती
बत्तीमा सेक्दै
फेरि हिँड्ने साहस
यी मेरा
पहिलो विश्वविद्यालयका
अनिवार्य विषय थिए।
१६/८ फुटको झुपडी
कहिले पानीले बगायो
कहिले आगोले खायो
कहिले हावाले उडायो
तर त्यही झुपडीभित्र
मान्छे बन्ने
अभ्यास चलिरह्यो।
शरणार्थी शिविर
दुःखको गोदाम मात्रै थिएन
त्यो त
जीवन पढाइने
महाविद्यालय थियो
जहाँ सपना बिक्दैनथे
तर जोगाइन्थे।
समय फेरि
सुनामी झै तेज बनेर आयो
तेस्रो देश पुनर्वासको
आधीमा
मेरो चेतनाको विमान चढ्यो
र झर्यो
यो मलिलो माटोमा
जहाँ पसिना रोप्दा
घामका सुनौला किरण फल्छन।
जन्मिएको माटोको सम्झना
आज पनि आउँछ
सुन्छु
त्यहाँ फर्कन मिल्दैन रे मलाई
किनकि
म जन्मँदै
देशद्रोही भए रे।
जहाँ मेरा पुर्खाले
जङ्गल फाँडेर उर्वर माटो बनाए
चटान फोरेर बाटो बनाए
कागजले अस्वीकार गरेको
त्यो माटो
मैले मुटुभित्र सजाएको छु।
सपना मै भएपनी कुलागाङ्री र जाकारपुन्सुमको
हावामा
मन अझै रमाउँछ ।
सुनकोशको तिर्खा
मेट्ने चाहना छ मलाई ।
आज
म जे छु, जे छैन
तर म यो देशको
नागरिक हुँ।
यहाँ
संविधान मेरो छ
कानुन मेरो छ
झण्डाको सम्मान गर्नु
मेरो कर्तव्य बन्छ
म देश बदलिएको मानव हुँ
आत्मा होइन।
म माटो फेरिएको प्राणी हुँ
मानवता होइन।
शरणार्थीबाट नागरिक बनेको
मेरो यात्रा
हारको कथा होइन
यो
पुनर्जीवनको प्रमाण हो।
म आफै प्रमाण हुँ
जन्मिएको
राज्यले नागरिकता नदिए पनि
जीवनले
मलाई मान्छे बन्न
कहिल्यै रोकेन।
बुद्ध खरी फाउन्डेशनका अध्यक्ष टिका ढुङ्गानाद्वारा लिखित पुस्तकको शनिवार अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गमा आयोजित विमोचन कार्यक्रमका वाचन गरिएको कविता

















