बेन्जामिन क्रेमास्की बने २०२५ का ‘युएस सकर यंग मेल प्लेयर अफ द इयर’
एटलान्टा / अमेरिकी पुरुष राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर बेन्जामिन क्रेमास्की सन् २०२५ का लागि युएस सकर यंग मेल प्लेयर अफ द इयर घोषित भएका छन्। हेंकेलद्वारा प्रस्तुत यो सम्मान उनले अन्तर्राष्ट्रिय तथा क्लब फुटबलमा देखाएको प्रभावशाली प्रदर्शनका आधारमा प्राप्त गरेका हुन्।
फ्लोरिडा निवासी क्रेमास्कीले २०२५ फिफा यू–२० विश्वकपमा अमेरिकालाई कप्तानका रूपमा क्वार्टरफाइनलसम्म पुर्याउँदै प्रतियोगितामा पाँच गोल गरेका थिए। यससँगै उनी यू–२० विश्वकपमा गोल्डेन बुट जित्ने दोस्रो अमेरिकी खेलाडी बनेका छन्। हाल उनी एमएलएस क्लब इन्टर मियामीबाट इटालीको सेरी ‘ए’ क्लब पार्मामा लोनमा खेलिरहेका छन्।
यंग मेल प्लेयर अफ द इयरका पाँच फाइनलिस्टमध्ये क्रेमास्कीले कुल मतको ३८.९ प्रतिशत प्राप्त गरे। काभन सुलिभान ३४.८ प्रतिशतका साथ दोस्रो र माथिस आल्बर्ट १२.३ प्रतिशत मतसहित तेस्रो स्थानमा रहे।
पुरस्कार पाएपछि प्रतिक्रिया दिँदै क्रेमास्कीले यो सम्मान आफ्नो क्लब र राष्ट्रिय टोलीसँग बिताएको वर्षको प्रतिविम्ब भएको बताए। उनले परिवार, टिममेट्स तथा प्रशिक्षकहरूको समर्थनबिना यो सम्भव नहुने उल्लेख गर्दै यू–२० टोलीका प्रशिक्षक मार्को मिट्रोभिचप्रति विशेष आभार व्यक्त गरे।
यस पुरस्कारसँगै हेंकेलले क्रेमास्कीको नाममा १० हजार अमेरिकी डलर परोपकारी संस्थामा दान गर्ने घोषणा गरेको छ। क्रेमास्कीले उक्त रकम फाउन्डेसन फर एन्जेलम्यान सिन्ड्रोम थेराप्युटिक्सलाई दिने निर्णय गरेका छन्। एन्जेलम्यान सिन्ड्रोम दुर्लभ आनुवंशिक रोग हो, जसबाट उनका कजिन मार्टिन पनि पीडित छन्।
२०२५ यू–२० विश्वकपमा चिलीमा भएको प्रतियोगितामा क्रेमास्कीले प्रत्येक खेल खेलेका थिए। न्यू क्यालेडोनियाविरुद्धको ऐतिहासिक ९–१ को जितमा उनले ह्याट्रिकसहित दुई असिस्ट गरे भने इटालीविरुद्धको प्रि–क्वार्टरफाइनलमा दुई गोल गर्दै टोलीलाई ३–० को जित दिलाए। पाँच गोलसहित उनले एउटै यू–२० विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने अमेरिकी खेलाडीको कीर्तिमानसमेत बनाए।
क्लब स्तरमा उनले इन्टर मियामीका लागि २२ खेल खेल्दै १ गोल र ४ असिस्ट गरे र टोलीलाई २०२५ एमएलएस कप जिताउन योगदान दिए। त्यसपछि उनको प्रदर्शनबाट प्रभावित हुँदै पार्माले उनलाई लोनमा भित्र्याएको हो, जहाँ उनले कोपा इटालियासहित तीन खेल खेलिसकेका छन्।
बेन्जामिन क्रेमास्की युएस सकर यंग मेल प्लेयर अफ द इयर जित्ने २८औँ खेलाडी हुन्। यो पुरस्कार जीवनमा एकपटक मात्र जित्न पाइने मानिन्छ। यसअघि ल्यान्डन डोनोभान, क्रिश्चियन पुलिसिक, जियो रेना र युनुस मुसाह जस्ता चर्चित खेलाडीहरूले पनि यो सम्मान प्राप्त गरिसकेका छन्।
युएस सकर फेडेरेसनले युवा खेलाडीहरूलाई प्रेरणा दिने क्रेमास्कीको योगदानको प्रशंसा गर्दै भविष्यमा उनी अमेरिकी फुटबलका महत्वपूर्ण आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरेको छ।















