पेन्सिल्भेनियामा ११ वर्षीया बालकद्वारा बाबाको गोली हानी हत्या
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको पेरी काउन्टीमा ११ वर्षीय बालकले आफ्नै बाबालाई गोली हानी हत्या गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता गरिएको छ। अदालतका कागजातअनुसार बाबुले निन्टेन्डो स्विच खोसेपछि रिसाएको अवस्थामा बालकले यो घातक कदम चालेको हो।
राज्य प्रहरीका अनुसार मंगलबार, जनवरी १३ को बिहान करिब ३:२० बजे डन्क्यानन बरोको साउथ मार्केट स्ट्रिटस्थित एक घरमा “अचेत अवस्थामा रहेका पुरुष” को सूचना पाएपछि प्रहरी पुगेको थियो। घटनास्थलमा ४२ वर्षीय डगलस डिट्ज आफ्नी श्रीमतीसँग सुत्ने कोठामा टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए।
अदालतका कागजातमा जनाइएअनुसार डगलस र उनकी श्रीमती सुतिरहेको अवस्थामा ठूलो आवाजले श्रीमती ब्युँझिइन्। उनले आतसबाजी जस्तो गन्ध आएको महसुस गरिन्। श्रीमानलाई उठाउन खोज्दा प्रतिक्रिया नआएपछि बत्ती बाल्दा रगत बगिरहेको देखिन्। त्यसपछि छोरा क्लेटन डिट्ज कोठामा प्रवेश गर्दै “ड्याडी मरे” भन्दै चिच्याएको र पछि “मैले बाबालाई मारेँ” भनेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
प्रहरी अनुसन्धानपछि ११ वर्षीय क्लेटन डिट्जलाई मुख्य अभियुक्तका रूपमा पहिचान गरिएको हो। कागजातअनुसार डगलस दम्पतीले क्लेटनलाई सन् २०१८ मा कानुनी रुपमा छोरा बनाएका थिए।
यो घटना क्लेटनको जन्मदिनकै दिन भएको बताइएको छ। परिवारले मध्यरातपछि जन्मदिन मनाएर सुत्न गएको थियो। तर बाबाले सुत्न जान भनेपछि आफू रिसाएको क्लेटनले प्रहरीलाई बयान दिएको छ। उनले अनुसन्धानकर्तासामु “मैले कसैलाई गोली हानेँ” भन्दै बाबालाई लक्षित गरेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार घरको बेडरुममा रहेको बन्दुक सेफबाट क्लेटनले चाबी निकालेर बन्दुक निकालेका थिए। उनकी आमाले चाबी कहाँ राखिएको थाहा नभएको बताएकी छन्। क्लेटनले बाबाको दराजमा चाबी फेला पारेको, सेफ खोलेर बन्दुक निकालेर गोली भरेको र बाबु सुतिरहेको पलङछेउ गएर ह्यामर तानेर गोली चलाएको स्वीकारेका छन्। गोली चलाउँदा के हुन्छ भन्ने सोचिन भनेर उनले बयान दिएका छन्।
राज्य प्रहरीले क्लेटनविरुद्ध आपराधिक हत्याको अभियोग लगाएको छ। उनलाई धरौटी नदिई हिरासतमा राखिएको छ र हाल पेरी काउन्टी कारागारमा छन्। यस मुद्दाको सुनुवाइ जनवरी २२ का लागि तोकिएको छ।
घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। छिमेकीहरूले परिवारलाई शान्त र सभ्य बताउँदै यस्तो घटना आफ्नै छेउछाउमा हुन सक्छ भन्ने कल्पनासमेत नगरेको प्रतिक्रिया दिएका छन्।


















