जिपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरूको समस्या तत्काल हल गरियोस्
काठमाडौं । भुटानी शरणार्थीहरूको अवस्था निकै नाजुक भएको ग्लोबल पिस अलाईन्स (जीपिए) ले जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरूको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो ।
जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरू कटौती गर्दा आधारभूत आवश्यकता समेत नपाएको दाबी गरे ।
‘यूनिसेफ, युनएचसिआर, सेभ द चिल्ड्रेन, रेडक्रस र एलडब्लु एफ तथा नेपाली संघसंस्थाहरुले गर्दै आएका सहयोगहरू २०१७ पछि कटौती हुँदा उहाँहरूको हालत खराब भएको हामीले पाएका छौँ ।’ अधिकारीले भने ।
झापाको बेलडाँगी र पथ्री सनिश्चर्यस्थिति शरणार्थी शिविरमा दयनीय अवस्था रहेको जनाउँदै अधिकारीले भने, ‘तेस्रो मुलुकमा पुनर्वासमा नगएका शरणार्थी दाजुभाइ–दिदीबहीनीहरुले नाजुक जीवन बेतित गरिरहनु भएकोले उहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको खाँचो रहेको छ ।’
जीपिए नेपाल च्याप्टर अध्यक्ष हिमा गुरुङले शरणार्थी राज्य विहीन भए पनि मानवताका दृष्टिकोणले सम्पूर्ण आधारभूत आवश्यकता र सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकार भएको तथा त्यसको रक्षा हुनुपर्ने धारणा राखिन् ।
७ वर्षको उमेरमा तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तरगत अमेरिका पुगेका अमृत अधिकारीले आफू अहिले अमेरिकी नागरिक भए पनि नेपाली पहिचानको रक्षा र शरणार्थीहरूले भोगिरहेका समस्याले दुःखित हुने गरेको बताए ।
जीपीए युवा सदस्यसमेत रहेका अधिकारीले आफू अमेरिकामै एमबीबीएस पढिरहेको र पढाई सकेपछि आफ्ना शरणार्थी दाजुभाइ तथा दिदीबहिनीहरूको हितमा काम गर्ने जनाए ।
कल्याण फाउन्डेसन नेपालका कोअर्डिनेटर हरिकृष्ण ढुङ्गेलले कोरोनाका समयदेखि अहिले विभिन्न समयमा शरणार्थीलगायतका समस्यामा परेका विभिन्न व्यक्तिहरूलाई राहत वितरण कार्य गरेको बताए ।
कल्याण फाउन्डेसन अमेरिकाका केन्द्रीय सदस्य प्रेम अधिकारीले बाँकी रहेका भूटानी शरणार्थीहरूलाई राज्य विहीनताबाट अन्त्य गर्न अपिल गरेका छन् । ‘सके भुटानमै फर्काउने, नभए नेपालकै नागरिक बनाउने, त्यो पनि नभए तेस्रो मुलुकमा पुनर्वास गराएर राज्य विहीनताको अवस्था अन्त्य गरिनुपर्छ ।’ अधिकारीले भने ।


















