पेन्सिल्भेनिया ल्यानक्यास्टर तमु ल्होसारले जुराएको भेट
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा आइतबार (जनवरी ११ तारिख) सामूहिक रुपमा तमु ल्होसार मनाइएको छ।
पछिल्लो तीन साताको बीचमा सेन्टर पेन्सिल्भेनिया सामूहिक तमु ल्होसार मनाइएको यो तेस्रो हो।
डिसेम्बर २७ तारिख र जनवरी ३ तारिख ह्यारिसबर्गको एउटै हलमा दुई फरक संस्थाले तमु ल्होसारको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेका थिए।
गुरुङ कम्युनीटी अफ ल्यानक्यास्टर पेन्सिल्भेनियाले आइतबारको तमु ल्होसार कार्यक्रम आयोजना गरेको हो।
गुरुङ कम्युनिटी अफ ल्यानक्यास्टर रोधी अध्यक्ष प्रसाद गुरुङले अन्य ठाउँको कार्यक्रम सँग नजुधाउन आफूहरूले केही पछि सामूहिक तमु ल्होसार कार्यक्रम आयोजना गरिएको बताए।

‘अघिल्ला दुई साता ह्यारिसबर्गमा तमु ल्होसारका कार्यक्रम भए हामी पनि गयौ एकै पटक नजुधाऊ भनेर हामीले अहिले कार्यक्रम गरेका हौ।’ उनले भने।
‘पुष १५ मा हामी हामी घरमा मात्र जम्मा भएर विधि पूर्वक तमु ल्होसार मनायौ।’ रोधी अध्यक्ष प्रसादले भने, ‘ल्हो सार्ने काम विधि अनुसार नै भयो, र आज सबैलाई बोलाएर सामूहिक रुपमा कार्यक्रम गरेका हौ।’
ल्यानक्यास्टर स्थित ताज महल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहभागि अधिकांश गुरुङ परम्परा र संस्कृति झल्कने भेषभुषामा उपस्थित थिए।

आपसमा शुभ कामना साटासाट गर्दै विभिन्न नेपाली परिकार खादै नाचगान सहित तमु ल्होसार मनाइएको थियो।
झण्डै ५० माइला टाढा पेन्सिल्भेनियाको ह्यारिसबर्ग र कार्ललका आमा समूह कोशेलीको सोली सहित तमु ल्होसार मान्न ल्यानक्यास्टर आइपुगेका थिए।

कार्यक्रममा ल्यानक्यास्टरका किशोरीहरूले घाँटु नृत्य प्रस्तुत गरेका थिए। यस्तै अन्य मौलिक नृत्य पनि प्रस्तुत गरिएको थियो।
ल्यानक्यास्टरका बाँसुरी वाधक सहवीर गुरुङलाई उनीकी छोरी र भतिजीले ‘लाइभ’ प्रस्तुतिमा साथ दिएका थिए।
जेनिशा ढकालले पनि लाइभ म्युजिकमा गीत गाएकी थिएन्।

कार्लल आमामा समूहले पनि सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यस्तै नेपालबाट आएकी कलाकार बालकासी गुरुङले पनि कार्यक्रममा प्रस्तुति दिएर रौनक थपेकी थिइन।
सबै भन्दा रोचक पक्ष ह्यारिसबर्गमा एकै हलमा एक साताको बीचमा दुई कार्यक्रम गर्दै तमु ल्होसार मनाएकाहरू ल्यानक्यास्टरमा भने एकै ठाँउमा भेला भएका थिए।

ल्यानक्यास्टर रोधीका अध्यक्ष प्रसादले यो संयोग मात्र भएको बताए।
‘उहाँहरूले हामीलाई बोलाउनु भयौ हामी दुवै ठाउँमा गयौ, अहिले हामीले बोलाउँदा उहाँहरू आइदिनु भयो,राम्रो भयो।’ प्रसादले भने,’हाम्रा लागि सबै बराबर।’
कार्यक्रममा विषेश अतिथि युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) का उपाध्यक्ष अगम गुरुङले जुन सुकै धर्म मान्ने र जुन सुकै देशमा जन्मिएको भए पनि सबै गुरुङ एक हुनु पर्ने बताए।
उनले सबैलाई एउटै कार्यक्रममा बोलाएकोमा आयोजकलाई धन्यवाद दिए।
‘हामी सानो सानो कुराले टुटफुट भएर मनमुटाब भएर कहिल्यै पनि नहिडौ म विनम्र अनुरोध गर्न चाहन्छु।’ युजीएसए उपाध्यक्ष अगमले भने, ‘र आज ल्यानक्यास्टरले यही सोच बोकेर पनि होला सबै जनालाई निमन्त्रणा गर्नु भएको छ मेरो हृदयबाट आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद।’
यस्तै कार्यक्रममा प्रमुख अतिथि भूट्नीज बुद्दिष्ट अर्गनाइजेशनका पूर्व अध्यक्ष तथा व्यवसायी ओम गुरुङले आयोजकले सबैलाई समान व्यवहार गरेको भन्दै धन्यवाद दिए।
‘ल्यानक्यास्टरबासीले जुन हामीलाई शिक्षा दिइराख्नु भएको छ। विषेशत अघि अगम दाजुले पनि भनेर जानु भयो सबैलाई समान रूपले उहाँहरूले निम्तो गर्नु भएको छ त्यो एउटा उहाँहरूको ठूलो छाती हो।’ उनले भने।
‘विषालु सप्री गयो अब घोडामाथि अडेर हामीले रमाइलो गर्ने हो हामीले मिल्ने हो द्वय रिस केही नराखी घोडामाथि चढेर मिल्ने हो।’ बीबीओ पूर्व अध्यक्ष ओम गुरुङले भने।
कार्लल आमा समूहलाई कोशेली फर्काउँदै ल्यानक्यास्टर तमु ल्होसारको समापन गरिएको थियो।
भिडियो रिपोर्ट


















