१५ दिनमै निर्णय पाउने सेवामा शुल्क वृद्धि, एच–१बी र अन्य भिसामा नयाँ दर लागू
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले एच–१बी र विद्यार्थी भिसासहित विभिन्न भिसा आवेदनका लागि फास्ट–ट्र्याक (प्रिमियम प्रोसेसिङ) शुल्क बढाएको घोषणा गरेको छ ।
युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (युएससिआइएस) ले मुद्रास्फीति (इन्फ्लेसन) लाई कारण देखाउँदै यी शुल्कहरू बढाइएको जनाएको छ । यसअघि पनि यस्तै कारण देखाउँदै (युएससिआइएस) ले अन्य आवेदन शुल्कहरू बढाएको थियो ।
आप्रवासीहरूले प्रिमियम प्रोसेसिङ प्रणालीअन्तर्गत अतिरिक्त शुल्क तिरेर आफ्नो कामसम्बन्धी अनुमति प्रक्रिया छिटो गराउन सक्ने जनाइएको छ । कतिपय अवस्थामा आप्रवासीहरूले १५ दिनभित्रै निर्णय उपलब्ध गराउन सक्नेछ ।
शुल्क बढाइएका आई–१२९ कार्य आधारित भिसा फारमहरू अन्तर्गत एच–१बी भिसा (विशेष दक्ष कामदारहरूका लागि) तथा एल भिसा अन्तर्गत बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना कार्यकारी तथा प्रबन्धकहरूलाई आन्तरिक रूपमा स्थानान्तरण गर्न सक्ने जनाएको छ ।
यी भिसा श्रेणीहरूमा आवेदन दिनेहरूका लागि छिटो प्रक्रिया गराउन अझ बढी शुल्क तिर्नु पर्नेछ । घोषणा गरिएको नयाँ शुल्क अनुसार आई–१२९ कार्य आधारित एच-२ बी र आर-१ भिसाका लागि पहिले १६ सय ८५ डलर तोकिएको थियो । हाल १७ सय ८० डलर तिर्नु पर्नेछ । त्यस्तै अन्य सबै श्रेणीहरूको भिसाको लागि २८ सय ५ डलरबाट शुल्क वृद्धि भएर २९ सय ६५ डलर पुगेको छ ।
(युएससिआइएस) का अनुसार यी शुल्क वृद्धि मुद्रास्फीति र प्रशासकीय लागत समायोजन गर्न गरिएको हो । प्रिमियम प्रोसेसिङ सेवा प्रयोग गर्दा आवेदनको निर्णय सामान्यभन्दा छिटो समयमा पाउने जनाएको छ ।















