दुई सन्तान र श्रीमानलाई साक्षी राख्दै, बाइबल छोएर विनिता पुरी राईले लिइन आयुक्त पदको सपथ
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनिया राज्यको डाउपिन काउन्टी अन्तर्गत स्वातारा टाउनसिपकी नवनिर्वाचित आयुक्त विनिता पुरी राईले सोमबार साँझ पद तथा गोपनीयताको सपथ लिएकी छिन्। विनिता पछि अर्का नव निर्वाचित आयुक्त बेन डगलसले पनि सपथ लिए।
टाउनसिप हलमा आयोजित समारोहमा डाउफिन काउन्टी कोर्ट अफ कमन प्लिजका न्यायाधीश ला टाशा सी. विलियम्सले पद तथा गोपनीयताको सपथ खुवाइकी थिइन् ।
विनिता र बेन गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका हुन्। दुवै जना डेमेक्रयाटिक पार्टीबाट निर्वाचित भएका हुन् । दुवै जनाको कार्यकाल चार वर्षको हुने छ।
विनिताले आफ्ना दुई सन्तान र श्रीमानलाई साक्षी राखेर बाइबल छोएर सपथ लिएकी थिइन्। सपथ ग्रहण समारोहमा विनिताका मातापिता, परिवारका अन्य सदस्यहरूको उपस्थिति थियो।

समारोहमा नेपाली भाषी भूटानी समुदायका मानवअधिकारवादी नेता विश्व क्षेत्र, व्यवसायी भूपेन्द्र बराल, समाजसेवी डा. खेम अधिकारी, समाजसेवी एवं सङ्गीतकर्मी अमल थुलुङ, एशियन रिफ्युजी युनाइटेड (एआरयु) का सह कार्यकारी निर्देशक रविन गुरुङ र एआरयु प्रतिनिधि पर्शु अधिकारी सहभागी थिए।

यसै गरी भूट्नीज कम्युनिटी इन ह्यारिसबर्ग (बीसीएच) का अध्यक्ष युवराज कोइराला, बीसीएच पूर्व अध्यक्ष टेक बहादुर गुरुङ, एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान उपाध्यक्ष अभिषेक थापा लगायतको उपस्थिति रहेको थियो।
समारोहमा तेक्वान्दो प्रशिक्षकहरू पनि सहभागी थिए।

युनाइटेड एभरेष्ट तेक्वान्दोकी सञ्चालिका तथा मुख्य प्रशिक्षक विनिता अमेरिकामा नेपाली भाषी भूटानी समुदायबाट पहिलो महिला जनप्रतिनिधि हुन्।
सपथ पछि सोमबार नै आयुक्तहरूको बोर्ड बैठक बसेको थियो।

















