न्यू योर्क राज्य सभा निर्वाचन : सोमनाथ घिमिरेद्वारा डिस्ट्रिक्ट ३० बाट उम्मेदवारी घोषणा
क्विन्स, न्यू योर्क/ गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिकी मुलधारको राजनीतिमा प्रवेस गर्ने घोषणा गरेका छन्।
न्यू योर्क राज्यको क्विन्स स्थित वुडसाइड क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका समुदायिक नेता घिमिरेले शुक्रवार न्यू योर्क राज्य सभाको डिस्ट्रिक्ट ३० बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनले डेमोक्रयाटिक पार्टीको तर्फबाट प्राइमरी चुनावका लागि उम्मेदवारी घोषणा गरेका हुन्। प्राइमरी चुनाव जुनमा हुने छ।
‘आज औपचारिक घोषणा भयो, अब जनवरी ११ तारिख आइतबार साँझ ६:३० बजे वुडसाइडस्थित गुलशन टेरेसमा आयोजना हुने सार्वजनिक कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्छु।’ समाज टाइम्स सँगको कुराकानीमा घिमिरेले भने।
‘क्विन्स त्यस्तो ठाउँ हो जहाँ हरेक परिवारको अपनत्व र आवाज हुनुपर्छ। डिस्ट्रिक्ट ३० का समुदायलाई वास्तविक समस्या बुझ्ने, सबैका लागि काम गर्ने व्यावहारिक र प्रभावकारी नेतृत्व आवश्यक छ भन्ने विश्वासका साथ म अगाडि आएको हुँ।’ उनले भने ।
‘यो अमेरिका सबै भन्दा धेरै दक्षिण एशियालीमुलका मतदाता भएको क्षेत्र हो ।’ घिमिरेले भने, ‘४१ प्रतिशत मतदाता दक्षिण एशियालीमुलका छन्।’
यो क्षेत्रमा अहिले डेमोक्याट्रिक पार्टीकै स्टिभेन रागा संसद छन्।
घिमिरेले सबल र न्यायपूर्ण क्विन्स निर्माणका लागि आफ्नो दृष्टिकोण ११ तारिख सार्वजनिक गर्ने बताइए ।
उनले प्राथमिकतामा सुलभ आवास, मजबुत सार्वजनिक विद्यालय, कामदारको अधिकार संरक्षण, तथा डिस्ट्रिक्ट ३० का सबै बासिन्दाको समावेशी प्रतिनिधित्व आफ्नो एजेण्डा रहेको बताए।
‘सार्वजनिक सेवा भनेको जनताको कुरा सुन्नु, सधैं उपस्थित हुनु र उनीहरूको पक्षमा लड्नु हो ।’ घिमिरेले थपे,’हामी सँगै मिलेर यस्तो क्विन्स बनाउन सक्छौं जहाँ हरेक परिवारले समृद्धिको अवसर पाओस्।’
घिमिरे सन् १९९६ देखि वुडसाइडमा बसोबास गर्दै आएका छन्।
‘मैले दुई दशकभन्दा बढी समयदेखि नेपाली अमेरिकी तथा दक्षिण एसियाली समुदायको सेवा गर्दै कामदार, आप्रवासी र श्रमिक परिवारहरूको अधिकारका लागि आवाज उठाउँदै आएका छु।’ उनले भने
सन् २०२० को अमेरिकी जनगणनामा फिल्ड सुपरभाइजरको रूपमा काम गर्दै अल्पप्रतिनिधित्व भएका समुदायलाई गणनामा समेट्न योगदान पुर्याएको अनुभव रहेको छ।
साथै उनले इनहर्ड इन्टरनेशनल (मानव अधिकार, वातावरण तथा विकासका लागि अन्तर्राष्ट्रिय संस्था) मार्फत २२ देशमा मानव अधिकारसम्बन्धी मिसनहरूमा सहभागिता जनाएका छन्।
डिस्ट्रिक्ट ३० को इतिहासमा:
२०२२ मा स्टिभेन रागाले पहिलो पटक यस सिट जितेका थिए र उनले रिपब्लिकन उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै विजय हासिल गरे। यसले उनी पहिलो फिलिपिनो-अमेरिकी बने न्यूयोर्क राज्य सभामा निर्वाचित भएको इतिहास पनि बनायो।
यसअघि यस क्षेत्रमा ब्रियान बार्नवेलले २०१७ देखि २०२२ सम्म सेवा गरेका थिए।
त्यसको अगाडि, लामो समयदेखिको इतिहासमा डिस्ट्रिक्ट ३० को धेरै सत्ता डेमोक्राटिक पार्टीले जित्दै आएको छ किनकि यो क्षेत्र प्रायः डेमोक्र्याटिक मतदाता केन्द्रित मानिन्छ।
२०२४ को चुनावमा रागाले (डेमोक्र्याट/वर्किङ फेम्लीज़) को टिकटबाट लगभग ५५.६५% मत हासिल गरे, जबकि रिपब्लिकन उम्मेदवार ब्रान्डन क्यास्ट्रोले ३६.८०% मात्र ल्यायो।
डिस्ट्रिक्ट ३० को जनसंख्या सन् २०२० को जनगणना अनुसार करिब एक लाख २२ हजार आठ सय ८२ जना रहेको छ।
जसमा लगभग ५८.३% डेमोक्र्याटिक, २६.५% नो पार्टी/अण्डिपेन्डेन्ट, र १२.२% रिपब्लिकन मतदाता रहेको तथ्याङ्क छ।
यो चुनाव दुई चरणमा सम्पन्न हुन्छ। पहिलो चरणमा डेमोक्र्याटिक पार्टीको प्राथमिक निर्वाचन हुन्छ, जहाँ पार्टीभित्रकै उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ। प्राथमिक जित्ने उम्मेदवारले त्यसपछि आम निर्वाचनमा रिपब्लिकन वा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न पाउँछ।
यस क्षेत्रमा ऐतिहासिक रूपमा डेमोक्र्याटिक पार्टी बलियो मानिन्छ।
घिमिरेको उम्मेदवारीको सबैभन्दा ठूलो चुनौती भनेकै हालका सभासद् स्टीवन रागा हुन्। रागा २०२२ मा पहिलो पटक डिस्ट्रिक्ट ३० बाट निर्वाचित भएका थिए र उनी न्यूयोर्क राज्य सभामा पुग्ने पहिलो फिलिपिनो–अमेरिकी सभासद् हुन्।
उनले २०२४ को निर्वाचनमा करिब ५५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै स्पष्ट जित निकालेका थिए, जबकि रिपब्लिकन उम्मेदवारले करिब ३७ प्रतिशत मत मात्र ल्याएका थिए। यस तथ्याङ्कले डिस्ट्रिक्ट ३० मा डेमोक्र्याटिक उम्मेदवारको अग्रता कति बलियो छ भन्ने देखाउँछ।
जनसांख्यिक हिसाबले डिस्ट्रिक्ट ३० न्यूयोर्ककै सबैभन्दा विविध क्षेत्रमध्ये एक हो।
सन् २०२० को जनगणनाअनुसार यहाँ करिब १ लाख २२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छन्। मतदाता संरचनामा करिब ५८ प्रतिशत डेमोक्र्याट, २६ प्रतिशतभन्दा बढी पार्टी–नदर्ता (इन्डिपेन्डेन्ट) र करिब १२ प्रतिशत रिपब्लिकन मतदाता रहेका छन्।















