न्यूयोर्क सिटीको मेयर बने ममदानी, किफायती आवास र निःशुल्क सेवामा जोड
कार्लाल, पेन्सिलभेनिया
डेमोक्र्याट जोहरान ममदानी न्यूयोर्क सिटीका मेयर बनेका छन् ।
सिटी हलको सिँढीमा बिहीवार आयोजित सार्वजनिक शपथग्रहण समारोहमा उनले कामकाजी जनताका लागि देशकै सबैभन्दा ठूलो शहरलाई अझ किफायती बनाउने आक्रामक कार्यसूची लागू गर्ने बताएका थिए ।
डेमोक्र्याटिक पार्टीको सदस्य ममदानी गत नोभेम्बरमा भएको निर्वाचनमा उल्लेखनीय जितसहित निर्वाचित भएका थिए ।
यस जितले यस वर्ष हुने मध्यावधि चुनावमा अमेरिकी कङ्ग्रेसको नियन्त्रण निर्धारण गर्न प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
केही डेमोक्र्याटहरूले उनको शैलीलाई अँगालेका छन् । रिपब्लिकनहरूले उनलाई राष्ट्रिय राजनीतिक रङ्गमञ्चमा विपक्षीको रूपमा चित्रण गरिरहेका छन् ।
३४ वर्षीय ममदानीले जीवनयापन लागतका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान चलाएका थिए । न्यूयोर्कका ८० लाख बासिन्दामध्ये कतिपय आशा र कतिपय चिन्तासहित उनलाई परिवर्तनकारी राजनीतिक शक्ति बन्ने अपेक्षा गरिरहेका छन् ।
शपथग्रहणमा बोल्दै ममदानीले सार्वभौमिक बाल सुविधा, किफायती भाडा र निःशुल्क बस सेवा जस्ता मुख्य चुनावी प्रतिबद्धताहरू दोहो¥याएका थिए ।
उनले भने, “हामी सबै न्यूयोर्कवासीप्रति उत्तरदायी हुनेछौँ, हाम्रो लोकतन्त्र किन्न सक्छु भन्ने कुनै पनि अर्बपति होइन, डेमोक्र्याटिक समाजवादीको रूपमा निर्वाचित भएको हुँ र त्यही रूपमा शासन गर्नेछु ।”
ममदानीको उद्घाटन कार्यक्रममा अमेरिकी सिनेटर बर्नी स्यान्डर्स र प्रतिनिधि अलेक्जान्द्रिया ओकासियो–कोर्तेजले पनि सम्बोधन गरेका थिए ।
“मानिसहरूलाई किफायती आवासमा बस्न पाउने व्यवस्था गर्नु कट्टरपन्थी कुरा होइन, यो सही र सभ्य काम हो।”, सिनेटर बर्नीस्यान्डर्सले भने ।
स्यान्डर्सले करोडपति र अर्बपतिहरूले बढी कर तिर्नुपर्ने आह्वान गर्दा हजारौँको भीडले ताली बजाउँदै ‘धनीमाथि कर’ भन्ने नारा लगाएको थियो । चिसो तापक्रमका बाबजुद शहरले ब्रडवेमा लाइभस्ट्रिम हेर्नका लागि विशेष व्यवस्था गरेको थियो ।
सार्वजनिक समारोहअघि ममदानीले नयाँ वर्षको पहिलो मिनेटमै ऐतिहासिक सिटी हल सबवे स्टेसनमा निजी रूपमा शपथ लिएका थिए ।
आफ्नो मुस्लिम आस्थालाई झल्काउँदै उनले शपथका लागि इस्लामको पवित्र ग्रन्थ कुरान प्रयोग गरेका थिए ।
पूर्व राज्य सांसद रहेका ममदानीले भाडा स्थिर गर्ने, निःशुल्क बस र बाल सुविधा उपलब्ध गराउने वाचा गरेका छन् ।
केहीले यसलाई नोभेम्बरको मध्यावधि चुनावअघि डेमोक्र्याटिक पार्टीका लागि देशभरि अपनाउन सकिने बाटोको रूपमा हेरेका छन् ।
भावी उप–मेयर डिन फुलेहानले ममदानीले आफ्ना वाचाहरू पूरा गर्न र बजेट सन्तुलनका लागि करोडपतिहरूमाथि कर बढाउने योजना अघि बढाउने बताएका छन् ।
प्रारम्भिक नीतिगत परिवर्तनका रूपमा ममदानीले बुधवार न्यूयोर्क सिटीको सार्वजनिक विद्यालय प्रणालीमा मेयरको प्रत्यक्ष नियन्त्रण अन्त्य गर्ने योजना फिर्ता लिएको र अनुभवी शिक्षक कमार स्यामुएल्सलाई चान्सलर नियुक्त गरेको बताए ।















