ट्रम्प प्रशासनको नयाँ नीति : सार्वजनिक स्वास्थ्य जोखिम भए एसाइलम अस्वीकार
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले सार्वजनिक स्वास्थ्य जोखिमको आधारमा आप्रवासीहरूलाई अमेरिकामा आश्रय (एसाइलम) दिन अस्वीकार गर्न सक्ने नियम सार्वजनिक गरेको छ ।
फेडेरल रजिस्टरमा प्रकाशित यस नियमअनुसार संक्रामक रोगका कारण सार्वजनिक स्वास्थ्यमा खतरा उत्पन्न गर्ने आप्रवासीहरूलाई (एसाइलम) प्रक्रियाबाट रोक्न सकिने बताइएको छ ।
यहि बुधवारदेखि लागू हुने यो नियमले संक्रामक रोगबाट सार्वजनिक स्वास्थ्य जोखिम देखिने आप्रवासीहरूका हकमा (एसाइलम) अस्वीकार गर्ने अधिकार अधिकारीहरूलाई प्रदान गर्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) का पूर्व वरिष्ठ अधिकारी मोर्गन बेलीका अनुसार (एसाइलम) सुनुवाइमा जाने सम्भावना भएका आप्रवासीहरू प्रारम्भिक चरणको छानबिनबाटै बाहिरिन सक्ने बताएका छन् ।
“पहिले पूर्ण (एसाइलम) सुनुवाइमा जाने सम्भावना भएका आप्रवासीहरू अब प्रारम्भिक चरणमै छानबिनबाट बाहिरिन सक्छन्, विशेषगरी व्यवहार अस्पष्ट (ग्रे एरिया) मा पर्ने अवस्थामा छ ।”, उनले भने ।
यो नियमले अमेरिका–मेक्सिको सीमामा (एसाइलम) अस्वीकार गर्न ट्रम्प प्रशासनलाई थप कानुनी माध्यम प्रदान गर्नेछ । कोभिड–१९ महामारीको सुरुवाती चरणमा प्रयोग गरिएको टाइटल ४२ जस्ता सार्वजनिक स्वास्थ्य उपायहरूलाई निरन्तरता दिएको देखिएको छ ।
जसअन्तर्गत भाइरस फैलिन नदिन आप्रवासीहरूलाई छिटो निष्कासन गरिएको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) र डिपार्टमेन्ट अफ जस्टिस (डोज) द्वारा जारी गरिएको यस नियमले क्रेडिबल फेयर परीक्षण प्रक्रियालाई पनि स्पष्ट पारेको छ । यो प्रारम्भिक मूल्याङ्कनले (एसाइलम) लिन खोज्ने व्यक्तिले पूर्ण दाबी अगाडि बढाउन पाउने कि नपाउने भन्ने निर्धारण गर्ने बताइएको छ ।
बेलीले भने, “यसको प्रभाव भविष्यतर्फ केन्द्रित छ । त्यसैले अग्रिम तयारी अझ महत्तवपूर्ण भएको छ । अन्तर्वार्ता, फारम र निवेदनहरूमा एकरूपता हुनुपर्छ, वा भिन्नता भए स्पष्ट कारण दिनुपर्छ । प्रारम्भिक कानुनी सहयोग पहिलेभन्दा बढी आवश्यक छ।”
नियमअनुसार ट्रम्प प्रशासनले संक्रामक रोग फैलिएको र अमेरिकाको सार्वजनिक स्वास्थ्यका लागि जोखिम मानिने देश वा क्षेत्रहरूलाई संयुक्त रूपमा तोक्ने जनाएको छ । यस नियमले क्रेडिबल फेयरको व्याख्यालाई अझ कडाइका साथ लागू गर्न सक्ने भएकाले अधिकारीहरूलाई मुद्दा प्रारम्भिक चरणमै बन्द गर्ने अधिकार बढ्नेछ ।
यो नियम पहिलो पटक सन् २०२० को डिसेम्बरमा जारी गरिएको भए पनि पटक–पटक ढिलाइ गरिएको थियो । त्यसयता (डिएचएस) र (डोज) ले सम्बन्धित नियमहरू संशोधन गर्दा सन् २०२० को नियमलाई औपचारिक रूपमा लागू गर्न चुनौती देखिएको थियो । हालको कदमले केही प्राविधिक संशोधनहरू फिर्ता लिँदै सार्वजनिक स्वास्थ्यसम्बन्धी मुख्य प्रावधानहरू यथावत् राखेको छ ।
बाइडेन प्रशासनले यस नियमको कार्यान्वयन मिति पाँच पटकसम्म सारेको थियो । डिसेम्बरमा ट्रम्प प्रशासनले पहिले यात्रा प्रतिबन्धमा परेका १९ देशका हजारौँ आप्रवासीहरूका लागि ग्रिन कार्ड र अमेरिकी नागरिकताका आवेदनहरू रोक्का गरेको थियो ।
यो कदम राजधानी वासिङ्टन डी.सी. मा एक अफगान नागरिकले वेस्ट भर्जिनिया नेशनल गार्डका दुई सदस्यमाथि गोली चलाएको आरोपित घटनापछि चालिएको थियो । त्यसपछि (युएससीआइएस) ले अफगानिस्तान सम्बन्धी सबै आवेदनहरू पूर्ण समीक्षा नभएसम्म रोकिएको घोषणा गरेको थियो ।
ट्रम्प प्रशासनले कानुनी आप्रवासनका बाटोहरू सीमित गर्ने विभिन्न उपायहरू लागू गरेको हो । जसअन्तर्गत भिसा, ग्रिन कार्ड र (एसाइलम) लागि कडा मापदण्ड तथा केही आप्रवासन कार्यक्रमहरूको स्थगन समावेश छन् ।
यी नीतिहरूको उद्देश्य नयाँ आगमन संख्या घटाउने र दक्षिण अफ्रिकी आवेदकहरूलाई प्राथमिकता दिने बताइएको छ । साथै, सन् २०२६ आर्थिक वर्षका लागि शरणार्थी स्वीकृतिको सीमा ७ हजार ५०० मा तोकिएको छ ।
जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि दक्षिणी सीमाबाट अवैध रूपमा प्रवेश गर्ने आप्रवासीहरूको संख्या दशकौँ यताकै न्यून स्तरमा झरेको जनाइएको छ ।













