युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।
मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौँ । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’
यसै गरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो । यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’
यसै गरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे । उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए ।
उनले भने, ‘चुनाव आउँदै छ, सही व्यक्ति चुनेर पठाउनुहोला । नेतृत्व सही आउनुपर्छ देश निर्माणको लागि। राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्छ । देशले डेलिभरी खोजेको छ, डेलिभरी दिन सक्ने नेतृत्वलाई जिताउनुपर्छ ।’














