कोलम्बसमा आईएसकेए खुला प्राविधिक कराँते सेमिनार सम्पन्न
कोलम्बस, ओहायो/ अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघ (आईएसकेए) को आयोजनामा अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा तीनदिने खुला प्राविधिक कराते सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ।
डिसेम्बर १९ देखि २१, २०२५ सम्म सञ्चालन भएको सेमिनारको समापन समारोह आइतबार भएको थियो।
आईएसकेए अमेरिकाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक पाँचौँ डान सेन्सेई शिव जोगीका अनुसार सेमिनारमा विभिन्न राज्यबाट आएका कराँते प्रशिक्षक र खेलाडीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
सेमिनारमा पहेँलो बेल्टदेखि पहिलो क्यु ब्राउन बेल्टसम्मका ७५ जना विद्यार्थी तथा २० जना ब्ल्याक बेल्ट विद्यार्थी सहभागी थिए। वरिष्ठ प्रशिक्षकहरूको संख्या १२ रहेको थियो।

सेमिनारमा भाग लिन पेन्सिल्भेनियाको ह्यारिसबर्ग, सिपिन्सबर्ग र पिट्सबर्ग, केन्टकीको लुइसभिल, भर्जिनियाको रिचमण्ड, ओहायोका रेनोल्ड्सबर्ग, कोलम्बस र सिन्सिनाटी, नर्थ क्यारोलाइना लगायतका स्थानबाट सहभागी आएका थिए।
सेमिनारमा सहभागि प्रशिक्षकसहित कुल सहभागी संख्या एक सय सात रहेको आयोजकले जनाएको छ।
सेमिनारमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान प्रदान गरिएको थियो।

कुमिते विधामा आयुष कुइकेल र सेलोनी रिजाल उत्कृष्ट घोषित भए। कातातर्फ डिस्का (डिआईएसकेए) बाट रोजा तामाङ तथा आईएसकेए कोलम्बसबाट बिराज नियोपाने उत्कृष्ट घोषित भए।
अनुशासनतर्फ २०२५ का उत्कृष्ट विद्यार्थीका रूपमा कोलम्बस डोजोबाट क्रिन्शा न्यौपाने, रेनोल्ड्सबर्ग डोजोबाट विवेक कार्की, कोलेराइन डोजोबाट हाबिले राई तथा फेयरफिल्ड डोजोबाट अस्टिन न्यौपाने चयन भए।

सेमिनारमा नेपाली करातेका संस्थापक तथा नेपाल कराते महासंघका पूर्व अध्यक्ष थानेश्वर राईको समेत उपस्थिति रहेको थियो।
सेमिनारमा विशेष अतिथिका रूपमा डिस्का प्रमुख प्रशिक्षक सेन्सेई रन राई, जापानका पाँचौँ डानका सेन्सेई जे. अगुइआर, अमेरिकी एनकेएफ रेफ्री सेन्सेई भीम थापा तथा पीकेएफ निर्णायक सेन्सेई माया लेप्चा सहभागी थिए।

सेन्सेई जे. अगुइआर अन्तर्राष्ट्रिय अगुइआर कराते संघ (जापान) का प्रमुख प्रशिक्षक हुन्।
समापन समारोहका प्रमुख अतिथि ओहायोस्थित हेल्दी होम केयर एलएलसीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक लिला कुइकेल रहेका थिए।

उनले करातेले अनुशासन, आत्मसंयम र आत्मरक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता सेमिनारहरूले युवा पुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने धारणा व्यक्त गरे।

आयोजकका अनुसार सेमिनारले करातेको प्राविधिक स्तर उकास्नुका साथै प्रशिक्षक र खेलाडीबीच अनुभव आदान–प्रदान र अन्तरराज्यीय सहकार्यलाई बलियो बनाएको छ।

















