विश्व बक्सिङ च्याम्पियनसिप : चन्द्र थापा मगरलाई ऐतिहासिक कांस्य पक्का ,सेमीमा काजाकस्तानी सँग भिड्ने
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ आइबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक सफलताहरू हासिल गर्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा आफूलाई दमदार रुपमा प्रस्तुत गरेको छ।
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी च्याम्पियनसिपको ५४ के.जी. तौलसमूहका चन्द्र थापा मगरले बुधवार इरानी बक्सरलाई एकमत निर्णयमा पराजित गर्दै कांस्य पदक पक्का गरेका छन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए।
यो जितसँगै थापाले न्यूनतम ७५,००० अमेरिकी डलर पुरस्कार रकम सुनिश्चित गरेका छन्।
अब सेमीफाइनलमा उनले काजाकस्तानका प्रतिस्पर्धीसँग भिड्नेछन्। जित हाँसेको खण्डमा थापाले पुरस्कार रकम एक लाख ५० हजार अमेरिकी डलर पुर्याउनेछन्, जसले नेपाली बक्सिङ इतिहासलाई थप उच्चाइमा पुर्याउनेछ।
दोस्रोतर्फ, ४८ के.जी. तौलसमूहका लाल बहादुर उप्रेतीले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे। उनले इथोपिया र माल्दोभाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए। यद्यपि, क्वाटरफाइनलमा काजाकस्तानका बक्सरसँग पराजित भएपछि उप्रेती प्रतियोगिताबाट बाहिरिए। यद्यपि, उनले १०,००० अमेरिकी डलर पुरस्कार रकम सुरक्षित गरे।
नेपालका दुबै प्रतिनिधिहरूले प्रदर्शित गरेको कौशल, आत्मविश्वास र जुझारूपनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठालाई उच्च बनाएको छ।
अब सम्पूर्ण राष्ट्र भोलिको सेमीफाइनल बाउटमा चन्द्र थापा मगरको साहस र सफलताको अपेक्षा गर्दै उत्साहित छ।















