रेमिट्यान्सले देश चलिरहेको छ, प्रवासीलाई सम्मान गरौँ : साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देश प्रेम र पहिचानप्रतिको संवेदनशीलता जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी संगठन विस्तार तथा प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले विदेशमा बसेर देशका लागि अथक परिश्रम गरिरहेका प्रवासी नेपालीप्रति सम्मान व्यक्त गर्दै स्वदेशमा बस्नेहरूले पनि मातृभूमिप्रतिको कर्तव्य बोध कायम राख्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘जब हामी ढुङ्गा छुन्छौँ, माटो छुन्छौँ, पानी र हावा छुन्छौँ, यी सबैले देशको सम्झना गराओस् । हिमाल–पहाड देख्दा देश प्रेम जागोस् । करिब १ करोड नेपाली आज विदेशमा छन्, उनीहरूले पठाएको रेमिट्यान्सले नै देश चलिरहेको छ । हामीले आज यही भूमिबाट ती सबै प्रवासी दाजुभाइ–दिदीबहिनीलाई सम्झिएका छौँ ।’
साम्पाङले स्वदेशमा बसेर देशलाई कत्तिको सम्झिन्छौँ भन्ने आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता समेत दोहोर्याए । ‘प्रवासीले त देश सम्झिरहेका छन्, तर हामी स्वदेशमा बस्नेहरूले उनी जति देशलाई सम्झिरहेका छौँ कि छैनौँ ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा उनले प्रत्येक नेपालीले मातृभूमिसँगको सम्बन्धलाई हरेक पल अनुभूत गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।
उनले भने, ‘प्रत्येक पल त्यो विदेशीले आफ्नो देश सम्झिरहोस् । प्रदेशीले यो देशलाई सम्झिरहेको छ तर यो देशमा बस्ने हामीहरूले सम्झेका छौँ की छैनौँ ? त्यसैले हरेक पल यो माटोलाई, यो देशलाई सम्झन सकौँ ।’














