एनआरएनए निर्वाचन कमिटी गठन, सदस्यता पुन एक महिना खुलाउने
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन कमिटी गठन गरिएको छ। एनआरएनए आइसीसी स्टेरिङ कमिटीको आइतबार बसेको बैठकले निर्वाचन कमिटी गठन र सदस्यता खुलाउने निर्णय गरेको हो।
महेश श्रेष्ठ र डा. बद्री केसीले नेतृत्व गरेको दुई समितिको एकता पछि बनेको स्टेरिङ कमिटीको आइतबार पहिलो बैठक बसेको हो।
स्टेरिङ कमिटीका सदस्य तथा महेश समूहका महासचिव बीआर लामाका अनुसार भर्चुअलरुपमा बसको बैठकमा एनआरएनएका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
‘१२ औ महाधिवेशनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय भयो।’ बैठक पछि समाज टाइम्स सँगको कुराकानीमा लामाले भने।
लामाका अनुसार उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ ।
निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् । निर्वाचन आयुक्तहरूमा अमेरिका निवासी भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्की छन्।
बैठकले महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिव द्वय लामा र जोशीलाई दिइएको छ ।
एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।
११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।















