कांग्रेसमा क्षमता र योगदानमा आधारित मूल्याङ्कन प्रणाली जरुरी : नेता घिमिरे
काठमाडौं । नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।
बिहीबार अभियानका तर्फबाट आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हरेक व्यक्तिलाई कामको आधारमा अवसर प्रदान गर्ने बताउँदै पद्धति संवत् रूपले पार्टी चल्ने युगमा आफूहरू प्रवेश गरेको धारणा राखे ।
उनले भने,‘अब क्षमता र योगदानमा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने छौँ । हरेकलाई कामको आधारमा अवसर प्रदान गर्ने छौँ । साथै यहाँ मेरो र तेरो भन्ने र काखा र पाखा हुँदैन । त्यसैले यसको लागि विधिपूर्वक पार्टी चल्नेछ । र पद्धति संवत् रूपले पार्टी चल्ने युगमा हामी प्रवेश गर्दैछौं ।’
त्यस्तै उनले विशेष महाधिवेशन जसरी पनि गराएर छाड्ने दाबी समेत गरे । त्यस्तै अर्का नेता जगदीश नरसिंह केसीले तोकिएकै समयमा अधिवेशन गर्दा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूको सम्मान हुने बताए । उनले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने नेताहरूले बागमतीलाई नभई कर्णालीलाई आधार बनाएर गरेको भए राम्रो हुने बताए ।
कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठले महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको औँल्याए । नेता युवराज पाण्डेले क्रियाशील सदस्यता अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउँदै तोकिएको कार्यतालिकाभित्रै अधिवेशन सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए ।















