लस एन्जलसस्थित संघीय भवनमा मोलोटोभ ककटेल प्रहार गर्ने व्यक्ति पक्राउ
वाशिंगटन / क्यालिफोर्नियास्थित लस एन्जलस, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस ) कार्यालय भवनमा मोलोटोभ ककटेल फालेर आक्रमण गरेको आरोपमा एक ५४ वर्षीय पुरुष सोमबार पक्राउ परेका छन्।
उनलाई घटनास्थलमै पक्राउ गर्ने क्रममा उनले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) विरुद्ध अपमानजनक र आक्रामक टिप्पणी गरिरहेको अधिकारीले जनाएका छन्।
अमेरिकी गृह सुरक्षा विभाग सार्वजनिक मामिला कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, ती व्यक्ति धेरै वटा मोलोटोभ ककटेल बोकेर लस एन्जलस संघीय भवन पुगेका थिए।
‘भवन बाहिर ड्युटीमा रहेका सुरक्षा अधिकारीले उनलाई आइस विरुद्ध चर्को आवाजमा गालीगलौज गर्दै हिँडिरहेको देखे। केही बेरमै उनले भवन सुरक्षा गरिरहेका अधिकारीतर्फ दुई वटा मोलोटोभ ककटेल फाले।’ विभागको विज्ञप्तिमा उल्लेख छ।
आक्रमण गर्ने क्रममा उनले भवन विस्फोट गराउने तथा “सबै अधिकारीलाई स्प्रे डाउन गर्ने” धम्की पनि दिएका थिए। यद्यपि मोलोटोभ ककटेलमा आगो नलागेकाले कुनै क्षति वा चोटपटक नभएको जनाएको छ।
पक्राउ पर्दा उनको साथबाट चार वटा चक्कु बरामद भएको थियो।
पक्राउ परेका व्यक्ति लामो आपराधिक इतिहास भएको जनाइएको छ। उनी सन् १९८७ मा हत्या प्रयास, १९९१ मा बन्दुकसहित लुटपाट,
२००७ मा १८ वर्षभन्दा कम उमेरका बालक–बालिकालाई जिस्क्याउने वा दुर्व्यवहार गर्ने आरोप लागेको थियो।
सहायक सचिव ट्रिसिया म्याकलफलिनले यो संघीय कानून कार्यान्वयनकर्तामाथिको स्पष्ट र योजनाबद्ध आक्रमण भएको बताएकी छिन्। ‘हाम्रा अधिकारीहरू दैनिक रूपमा हत्या, बलात्कार, ग्याङ अपराधीहरूलाई धरपकड गर्ने क्रममा निरन्तर जोखिममा हुन्छन्। उनीहरूमाथि हुने आक्रमण, गाडीलाई हतियार बनाइने प्रयास, लक्षित गोली प्रहार यी सबै गलत र घृणास्पद राजनीतिक र सामाजिक भाषणको परिणाम हुन्।’
म्याकलफलिनले कानुनमाथि आक्रमण गर्ने जो कोहीलाई कडा रूपमा कारबाही गरिने बताएकी छिन्।
यो घटना केही दिनअघि वाशिंगटन डी.सी.मा दुई राष्ट्रिय गार्डहरूको ज्यान जाने गरी बन्दुकधारीले गरेको घातक आक्रमणपछि भएको हो।
विभागका अनुसार आइस अधिकारीहरूमाथि हुने आक्रमणमा एक सय १५ प्रतिशत र मृत्यु धम्कीमा आठ हजार प्रतिशत वृद्धि भएको छ।
‘यस आक्रमणलाई संघीय अधिकारीहरूले अत्यन्त गम्भीर सुरक्षा चुनौतीको सङ्केतका रूपमा लिएका छन्।’ विभागको विज्ञप्तिमा भनिएको छ।












