कार्यक्रम सफलताको अदृश्य आधार: पत्रकार
त्रिविक्रम नेउपाने
अमेरिकाको पेन्सिलभेनियामा रहेका नेपाली समुदायका कार्यक्रमहरूमा वर्षौँदेखिको अनुभवले मलाई एउटा गहिरो, पुनः–पुनः दोहोरिने वास्तविकता बुझायो। हामी कार्यक्रमहरूलाई भव्य, आकर्षक र सफल बनाउन अथक महेनत गर्छौँ, तर पत्रकारप्रतिको व्यवस्थापनमा भने अझै मूलभूत प्रश्नहरूको समाधान खोज्न बाँकी छ। म जहाँ जहाँ सहभागी भएँ, त्यहाँ कलाकारको चमक, दर्शकको उत्साह, आयोजकको ऊर्जा र समुदायको एकताभाव त प्रस्ट देखिन्थ्यो, तर पत्रकारसँग सम्बन्धित एउटा कमजोरी हरेकपटक उस्तै स्वरूपमा देखा पर्थ्यो। क्यामेरा बोकेर भीड छिचोल्दै आफ्नो काम गरिरहेका पत्रकारलाई दर्शकले गुनासो गर्दै हेर्ने, अनि पत्रकार स्वयं आफ्नो दायित्व पूरा गर्न संघर्षमै व्यस्त रहने। यही दृश्यले कार्यक्रमको चमकभित्र लुकेको व्यवस्थापन अभावलाई उजागर गरिदिन्थ्यो।
दर्शकको गुनासो प्रायः एउटै हुन्छ, पत्रकारहरूले हाम्रो दृश्य छेकिदिए, कार्यक्रम हेर्न अवरोध भयो, बारम्बार हिँडडुलले ध्यान भंग भयो। तर जब मैले पत्रकारहरूको अवस्थालाई नजिकबाट नियालें, तब बुझेँ कि उनीहरू त्यो व्यवहार जानाजानी गरिरहेका हुँदैनन्; उनीहरू तालिका, कोण, आवाज, फोटो, भिडियो सबै सम्हाल्न बाध्यताले भीडभित्र छिर्नुपर्छ। कार्यक्रम कभर गर्ने दायित्व स्वयं कठिन छ, र त्यो कठिनाइ अझ बढ्छ जब आयोजकले उनीहरूको कामलाई सहज बनाउने कुनै संरचना नै तयार गर्दैनन्। यसरी हेर्दा, समस्या दर्शक वा पत्रकारको वैमनस्य होइन ,समस्या आयोजकको कमजोर व्यवस्थापन हो जसले दुवै पक्षलाई असहज बनाइदिन्छ।
पत्रकारको भूमिका साधारण दर्शकको भूमिकाभन्दा पूर्ण रूपमा फरक हुन्छ। दर्शक कार्यक्रम ‘हेर्न’ आउँछन्; पत्रकार कार्यक्रम ‘दस्तावेज’ गर्न आउँछन्। उनीहरू कार्यक्रमका हरेक रंग, ध्वनि, शब्द, अनुहार र क्षणलाई समातेर समुदायभरि फैलाउने माध्यम हुन्। उनीहरूले तयार पारेको रिपोर्टले कार्यक्रमलाई सीमित ठाउँबाट निकालेर देश–विदेशका हजारौँ नेपालीसम्म पुर्याउँछ। कार्यक्रम सकिएपछि स्मृतिमा बाँचिरहने शक्ति भिडियो, फोटो र समाचारबाट आउँछ र त्यो स्रोत पत्रकार नै हुन्। तर विडम्बना के छ भने जसले कार्यक्रमलाई इतिहास बनाइदिन्छ, त्यो पत्रकारलाई कार्यक्रमस्थलमै इतिहासजस्तो ‘अनादर’ भोग्नुपर्छ।
यो विडम्बनाको जरो व्यवस्थापनअभावदेखि सुरु हुन्छ। धेरै आयोजक पत्रकारलाई औपचारिक निमन्त्रणा त दिन्छन्, तर उनको काम, उपकरण र पहुँचलाई ध्यानमा राखेर वातावरण तयार गर्दैनन्। पत्रकारलाई क्यामेरा राख्न सुरक्षित प्लेटफर्म छैन, अवरोधरहित कोण छैन, भीड बन्देज नहुने मार्ग छैन, र कहिलेकाहीँ त उनीहरू कहाँ बस्नुपर्छ भन्ने जानकारीसमेत दिइँदैन। यस्तो अव्यवस्थित अवस्थाले गर्दा पत्रकार दर्शकको अगाडि जान बाध्य हुन्छन्, दर्शक असन्तुष्ट हुन्छन्, र आयोजकमाथि आलोचना आउँछ। तर यस्को जरा एउटै हो: योजना र व्यवस्थापनको अभाव।
समुदायका कार्यक्रमहरू धेरै परिष्कृत हुँदै गइरहेका छन् सजावट आकर्षक छ, कलाकारहरुको प्रस्तुति सशक्त छ, ध्वनि–प्रकाशको गुणस्तर उकासिएको छ, तर पत्रकारमैत्री संरचना भने अझै जन्मिन बाँकी छ। यो केवल एक व्यवस्थापकीय कमजोरी मात्र होइन; यो कार्यक्रमको सम्पूर्ण प्रभाव र भविष्यसँग सम्बन्धित मुद्दा हो। किनकि पत्रकारले सहज वातावरण पाएनन् भने रिपोर्टको गुणस्तर घट्छ, भिजुअल कमजोर हुन्छ, अनि कार्यक्रमलाई देश विदेशमै प्रचार गर्ने अवसर गुम्छ। यसकारण, पत्रकारलाई सहज बनाउनु केवल ‘उपकार’ होइन, कार्यक्रमकै स्तर उकास्ने ‘पूर्वशर्त’ हो।
पत्रकारको काम कति आवश्यक छ भनेर बुझ्न, केवल एउटै प्रश्नले उत्तर दिन्छ। कार्यक्रम सकिएर भोलिपल्ट समुदायले के हेर्छ? स्टेजमा बसेर देखेका दृश्य होइन; पत्रकारले कैद गरेको दस्तावेज। यही दस्तावेजले समुदायलाई जोड्छ, कार्यक्रमलाई सम्झनामा राख्छ, र आयोजकको प्रतिष्ठा बनाउँछ। त्यसैले, आयोजकले पत्रकारलाई कुन स्थान दिए, कस्तो वातावरण बनाए यसले कार्यक्रमको नतिजा र भविष्य दुबैले निर्धारण गर्छ। सम्मानको भाषा बोलेर मात्र हुँदैन; त्यो भाषा व्यवस्थापनमार्फत व्यवहारिक रूपमा देखिनुपर्छ।
अन्ततः, सफल कार्यक्रम भनेको केवल कलाकारको चमक, दर्शकको ताली र आयोजकको मेहनतले मात्र बनिँदैन; त्यसअघि र त्यसपछि उभिने पत्रकारको आँखाबाट पनि त्यो सफलता आकार लिन्छ। दर्शक, पत्रकार र आयोजकबीचको सन्तुलन नै कार्यक्रमको वास्तविक भव्यता हो। जबसम्म पत्रकारलाई अवरोधरहित पहुँच, सुरक्षित स्थान र स्पष्ट मार्ग दिइँदैन, तबसम्म कार्यक्रम कति ठूलो भए पनि अपूर्ण नै रहन्छ। र जब आयोजकले पत्रकारको कामलाई ‘अवरोध’ होइन ‘अवसर’ का रूपमा बुझेर व्यवस्थापन सुधार्छन्, तब मात्र कार्यक्रम पूर्ण रूपमा सफल, प्रभावशाली र समुदायअन्तर्गत दीर्घकालीन रूपमा बाँचिरहने बन्छ।
यही कारणले अब समय भइसकेको छ। गुनासो गर्ने होइन, व्यवस्थापन सुधार्ने; पत्रकारलाई सहन बाध्य बनाउने होइन, सम्मानपूर्वक काम गर्न दिने; भीडले ढाक्ने ठाउँ होइन, पेशागत गरिमाले भरिएको स्थान बनाउने। किनकि कार्यक्रम आयोजकको मेहनतले जन्मिन्छ, तर पत्रकारको कलम र क्यामेराले अमर हुन्छ।
र यो पनि…
अध्यक्षत्वको मोह : अमेरिकी नेपाली समाजको विडम्बना















