ओलीको कटाक्ष : हात पाऊ बसेका बुढा पाखा अन्त गए, युवाहरू एमालेमा आए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बुढापाका बाहिरिएको र युवा पुस्ता धमाधम प्रवेश गर्न थालेको दाबी गरेका छन् ।
उनले नेकपा एसका नेताहरूप्रति लक्षित गर्दै काम गर्न नसक्ने र हात पाऊ बसेका बुढा पाखा अन्त गएको र युवा पुस्ताहरू एमालेमा आउन थालेको भन्दै कटाक्ष गरेका हुन् ।
सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरूको आग्रहले नभई आफ्नो अनुभवले नेकपा एसका नेताहरू घर फर्किएको उनको भनाइ छ ।
उनले भने,‘गाउँ खाने कथा जस्तो काम गर्न नसक्ने र हात पाऊ बसेका बुढा पाखा अलग भए पनि युवा पुस्ता भित्रिरहेका छन् । हाम्रो आग्रहले होइन उहाँहरूको अनुभवले घर फर्कनु भएको हो । हामीले आह्वान गरौँ । तर फकाइफुल्याई वरीयतामा केही पनि दिन्छु भनेका छैनौँ । यो चाहियो भनेको छैनौँ । घर फर्कने छौँ मात्र भन्नुभएको छ ।’
त्यस्तै उनले नेकपा एमाले सानो चित्त, साँघुरो मन र दिल भएको भनेर हल्ला चलाइएकोमा रोष व्यक्त गरे । एमालेमा कोही खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था नभई फराकिलोसँग बस्ने इस्पेस रहेको बताए ।
अध्यक्ष ओलीले अब उप्रान्त नेकपा एमालेले जेनजी आन्दोलनको जस्तो घट्ना हुन नदिने भन्दै आगो लगाउनेलाई छुट नदिने बताए ।
त्यस्तै उनले निजी सम्पत्ति स्वाहा पारिदिने चिनिएका तत्त्वहरूलाई सरकारले गिरफ्तार र कारबाही नगरेको भन्दै यस्तो दण्डहीनताको प्रवृत्तिले दीर्घकालीन प्रतिसोध जन्माएर समाजमा दीर्घकालीन अशान्ति हुने बताए । उनले समयमा नै दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारलाई चेतावनी दिए ।
‘अब उप्रान्त नेकपा एमालेले यस्तो घट्ना हुन दिने छैन् । आगो लगाउनेलाई छुट दिने छैन् । निजी सम्पत्ति स्वाहा पारिदिने तत्त्वहरू चिनिएका छन् । गिरफ्तार वा कारबाही गर्न नहुने पनि हुन्छ ? म सरकारलाई चेतावनी दिन्छु । यस्तो दण्डहीनताको प्रवृत्तिले प्रतिसोध जन्माएर समाजमा दीर्घकालीन अशान्ति हुनसक्छ । त्यस कारण समयमा नै कानुनी कारबाही गर्नुपर्छ,’ उनले भने ।
जेनजीको नाममा युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएको बताउँदै उनले संसद विघटन गर्ने र हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री हुने जस्ता सबै नराम्रो कामहरु भएको बताए ।उनले भने,‘जेनजीको नाममा आन्दोलन होइन अर्कै चिजको भएछ । राष्ट्र र व्यक्तिको सम्पत्ति जलाइएछ । थुप्रै युवाहरू एउटा परिस्थिति खडा गरेर मार्ने मराउने काम भएछ । संसद विघटन गर्ने अनि हुनै नहुने मान्छे संविधान मिचेर प्रधानमन्त्री भएछन् । नहुन पर्ने सबै नराम्रो काम भएछ । असंवैधानिक सरकार बनेछ । लोकतन्त्र विरोधी र जनमतलाई अनादार गर्ने सरकार बनेछ । संविधान जगाउने र जसबाट संसद पुनर्स्थापना गर्ने बाटो नै ठिक रहेछ भनेर केही जेनजी र युवाहरू एमालेमा नयाँ प्रवेश गर्नुभएको छ ।’












