‘ निर्वाचन गरेर स्थानीय निकायलाई पूर्ण बनाउने काम सरकारको’, निर्वाचन आयोग
काठमाडौँ / निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।
आइतबार सहसचिव एवं सह प्रवक्ता कोमल प्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताए । २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा,जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गरे ।
सह प्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानुनी विषय भएकोले निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने तयारी राम्रोसँग गर्न सकिने बताए । धमलाले स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्टाउने प्रावधान कानुनले नदिएकोले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने बताए ।










