एमाले भन्छ,‘वैशाखमा प्रतिनिधि सभा निर्वाचनको कार्डको मनसाय गलत
काठमाडौँ /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनलाई धकेल्न पाँच दलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने ’कार्ड’ फ्याँकेको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतले गठबन्धनले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने ’कार्ड’ फ्याँकेको आरोप लगाएका हुन् ।एमालेले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने प्रस्ताव कुनै असल मनसायले नआएको बताएको छ ।
’यो प्रस्ताव कुनै असल मनसायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा एमाले स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टी जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताएका छन् । तर, कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने उनले बताएका छन् ।
अध्यक्ष ओलीले आफूले ताजा जनआदेशमा जाने निर्णय गर्दा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै संसद् पुनर्स्थापनालाई ’संविधानको जित’ का रूपमा व्याख्या गर्ने नेताहरूले कुन नैतिकताका आधारमा ’अर्ली इलेक्सन’को कुरा गर्दै छन् भन्ने प्रश्न पनि गरेका छन् । ’गत वर्ष हामीले ताजा जनदेशको माग गर्दा हामीमाथि अनेकौँ प्रहार गरिए । जनताको बिचमा जानुलाई ’प्रतिगमन’ र जनदेश विपरीत जस्केलाबाट सरकार बनाउनुलाई ’अग्रगमन’ भन्ने भाषा प्रयोग गरियो ।
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई ’संविधानको जित’का रूपमा व्याख्या गर्न नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ’अर्ली इलेक्सन’ को कुरा गर्दै छन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमा याचना गर्नु पर्दैन?’ एमाले प्रश्न गरेको छ ।














