अमेरिकामा हुने विश्वकप फुटबलको टिकट किन्न चाहनेको संख्या लाखौँ, अन्तिम दिनसम्म कति पुग्ला?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि पहिलो चरणको टिकट बिक्री प्रक्रिया जारी छ।
अघिल्लो साता खुलेको टिकट सेप्टेम्बर १९ तारिख शुक्रबार बिहान ११ बजे (न्यु योर्क समय) सम्म चल्नेछ।
पहिलो चरणमा भिसा कार्ड प्रिसेल ड्रका लागि आवेदन खुलेको हो। भिसा प्रिसेल ड्रमार्फत विश्वभरका फ्यानलाई टिकट किन्ने अवसर प्रदान गरेको हो।
फिफाको आधिकारिक भुक्तानी प्रविधि साझेदारको सहयोगमा योग्य भिसा कार्ड बोक्नेका लागि दस दिने आवेदन अवधि सकिन अब एक दिन मात्र बाँकी छ।
फिफाको FIFA.com/tickets मार्फत टिकट किन्न दिएका आवेदकलाई सेप्टेम्बर २९ सोमबारदेखि इमेलमार्फत सूचित गरिनेछ। आवेदन दिने सबैले टिकट किन्न भने पाउनेछैनन्। फिफाले आवेदकमध्येबाट चिठ्ठामार्फत् छनोट गर्नेछ।
सफल आवेदकलाई अक्टोबर १ बाट टिकट खरिद गर्नका लागि तोकिएको मिति र समय स्लट दिइनेछ। जसमा योग्य भिसा कार्ड प्रयोग गर्नुपर्नेछ। फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरूका लागि टिकट बिक्री ६० अमेरिकी डलरबाट सुरु गरिनेछ।
भिसा प्रिसेल ड्र प्रक्रिया र मूल्य निर्धारणका बारेमा थप जानकारी, साथै थप टिकट बिक्री चरणहरूको विवरण FIFA.com/tickets मा पाउन सकिन्छ।
पहिलो चरणको टिकट बिक्रीमा फ्यानले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्। फिफाले भिसा प्रिसेल ड्रका लागि आवेदन खुलाएको २४ घण्टाभित्रै विश्वभरबाट ठूलो संख्यामा आवेदनहरू प्राप्त गरेको थियो। पहिलो दिन २१० देशका १५ लाखभन्दा बढी प्रशंसकले आवेदन दिएका थिए। बाँकी आठ दिनमा यसको संख्या अझै बढेको छ।
अहिलेसम्म संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाका फ्यानबाट सर्वाधिक माग आएको छ।,त्यसपछि अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, इङ्गल्यान्ड, स्पेन, पोर्चुगल र जर्मनीका प्रशंसक छन्।
















