ओहायोमा पहिलो सनसाइन तेक्वान्दो ओपन प्रतियोगिता हुँदै
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पहिलो सनसाइन तेक्वान्दो ओपन प्रतियोगिता अमेरिकाको ओहायोमा हुने भएको छ।
सनसाइन तेक्वान्दो एकेडेमीको आयोजनामा प्रतियोगिता नोभेम्बर फस्टमा हुन लागेको हो। एकेडेमीकी सञ्चालिका तथा प्रमुख प्रशिक्षक कौशिला खनाल कर्माचार्यका अनुसार प्रतियोगितामा कम्तिमा १२ प्लस स्कुलका तीन सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
कौशिला अमेरिकामा नेपाली भाषी भुटानी समुदायमा सबै भन्दा उपल्लो डान (ब्याल्कबेल्ट पाँचौँ) प्राप्त प्रशिक्षक हुन्। यस्तै उनी अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली भाषी भुटानी पनि हुन्।
शुरुमा सन् २०१० मा एरिजोनामा स्कुल स्थापना गरेकी उनले सन् २०१९ मा ओहायो बसाइसराई पछि पनि त्यसलाई निरन्तरता दिएकी थिएन। अहिले ओहायोको रेनर्सबर्ड, कोलम्बस र एक्रोनमा गरी तीन ठाउँमा स्कुल विस्तार गरेकी छिन्।
‘हाम्रो स्पेसल भुटनीज कम्युनिटीमा सबै जनालाई एउटै आँगनमा ओहायोमा भेट गराउने जमर्को गर्दै छु।‘ समाज टाइम्स सँग कौशिलाले भनिन् ।
यद्यपी यो खुल्ला प्रतियोगिता भएकाले नेपाली भाषी भुटानी बाहेक अन्य समुदायका खेलाडीले पनि प्रतियोगितामा सहभागिता जनाउन सकिने उनले जानकारी दिइन्।
कौशिलाले प्रतियोगितामा भाग लिन चाहनेले अनलाइन बाट पनि नाम दर्ता गर्न सकिने बताइन।
















