अस्पतालबाट जेन जीहरू भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघि बढे अर्को आन्दोलन
|
Getting your Trinity Audio player ready...
|
प्रमिला कार्की
काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरूको सहभागिता बिना वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
नक्कली जेनजी बनेर वार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरूको अनुपस्थितिमा भएका कुनै पनि निर्णय मान्य नहुने बताएका हुन् ।
आन्दोलनमा आठ वटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरू सबैलाई अस्पतालमा नै रहेको बताउँदै आफूहरूको सहभागिताविना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे ।
उनले भने,‘हामी असली योद्धाहरू सबै अस्पतालमा छौँ । त्यसैले वार्तामा लगेर हाम्रो माग के हो भन्ने कुरा राख्न पाउनुपर्यो । अगाडि बढेर गोली खान तयार हुनेहरू बिना वार्ता गरेर कुनै औचित्य छैन । मर्न नडराएर गोली थापेर आएका हामी हौँ । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’
उनले अन्य पार्टीका मानिसहरूले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको बताउँदै उनले अहिले रियल जेन जीहरू एक हुन आवश्यक रहेको पनि सुनाए ।
‘अन्य पार्टीका मानिसहरूले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेन जीहरू एक हुन आवश्यक छ । नत्र भने त्यही देशका नेताहरूले देश सखाप पार्ने अवस्था आउने छन् । त्यसको लागि पनि हामी एकदमै सतर्क हुनुपर्ने आवश्यकता छ,’उनले भने
त्यस्तै अर्का घाइते नारायण श्रेष्ठले संसद् विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद् विघटन नभएदेखि आफूहरूले अस्पतालबाट निस्केर फेरी आन्दोलन सुरु गर्ने चेतावनी दिए ।
‘मलाई पनि रबरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइ खाइ लडेका थियौ । अहिले न्यूज हेर्दा जेनजी भनौदाहरुले संविधान ठिक छ, हामीले गल्ती बोल्यौ भन्दैछन् । उनीहरूलाई जेनजी मान्दैनौ । विद्रोह गर्न तयार छौँ । यो संसद् विघटन हुनुपर्छ । यो तपाईँहरूले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिँदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद् विघटन हुनै पर्छ ।
उनले भने,‘उहाँ(सुशीला कार्की) नै आएपनि त्यसमा विमति छैन । तर संसद् विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठुलो माग हो । त्यसकै लागि लडेका हौँ । यही संविधानलाई मान्नलाई होइन । शान्तिपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरू जुटेका थियौँ । पहिलो दिनको आन्दोलनमा सबै जेन जीहरू नै थियौ । तर पुलिसको दमन सुरु भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था बिग्रिएको हो ।’
त्यस्तै उनले मङ्गलवारको आन्दोलनमा सबै जेन जीहरुमात्र सहभागी भएर अन्य पार्टीको संलग्न नभएको बताए । सिंहदरबार जलाउने जेनजीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् ।
‘भोलिपटकको आन्दोलनमा जेनजी मात्र थिएनन् । सिंहदरबार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरबार जलाउन आन्दोलन गरेको होइनौँ । रवि लामिछाने निकाल्न हामीले आन्दोलन गरेका हैनौ । यो हेक्का रहोस् ।’
उनले आफूहरुलेसँग जेनजीहरुले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए ।
नेपाल न्यूज बैंक












